पोखरा । तनहुँको आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदीप सुवेदी गण्डकी प्रदेश प्रहरी कार्यालयबाट २०८३ भदौ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले सुवेदीले संगठनको नीति–निर्देशनअनुसार पदीय जिम्मेवारी इमानदार, कर्तव्यनिष्ठ र उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी छनोट गरेको हो।
कार्यालयका अनुसार सुवेदीले भदौ महिनामा विभिन्न नाम र परिमाणका अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, भोटेकोशी बाढीमा परी मृत्यु भएका ३८ जनाको शव निकाल्न, फरार प्रतिवादी पक्राउ गर्न तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
उनले विपद्का बेला उद्धार तथा सुरक्षा व्यवस्थापनमा समेत सक्रिय भूमिका खेलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सुवेदीको नेतृत्वमा सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै उनलाई ‘Best Police of the Month’ घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले सुवेदीलाई उत्कृष्ट प्रदेश प्रहरी छनोट भएकोमा बधाईसमेत दिएका छन्।
प्रहरी निरीक्षक सुवेदी हाल इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँका प्रमुखका रूपमा कार्यरत छन्।
