रौतहट । लालबकैया नदीको तीव्र कटानले तटबन्ध नै जोखिममा परेपछि अग्रभागमा खटिएर सुरक्षा निकाय र स्थानीयवासीलाई परिचालन गरेका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरी केसीको सक्रियताको प्रशंसा भएको छ।
मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित तटबन्ध कटानको उच्च जोखिममा परेपछि इन्स्पेक्टर केसी आफैं स्थलगत रूपमा खटिएका थिए। उनले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासीबीच समन्वय गर्दै तत्काल तटबन्ध संरक्षण र मर्मतको काम अघि बढाएका थिए।
कटानको अवस्था निरीक्षण गर्न पुगेका मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोसहित उच्च सुरक्षा अधिकारीहरूले केसीको सक्रियता र स्थलगत नेतृत्वको प्रशंसा गरेका छन्।
निरीक्षणका क्रममा उनको भूमिकालाई अनौपचारिक रूपमा ‘कटान नियन्त्रणका हिरो’ समेत भनिएको थियो। मन्त्री महतोले इन्स्पेक्टर केसीलाई पुरस्कृत गर्ने घोषणा समेत गरेका छन्।
केसीको नेतृत्वमा आइतबार बिहानदेखि साँझसम्म तटबन्धको जोखिमयुक्त क्षेत्रमा करिब ६ हजार बोरा बालुवा भरेर राखिएको थियो। बाँस गाड्ने, बालुवाले भरिएका बोरा राख्ने र नदीको बहावको दबाब कम गर्ने कामलाई तीव्रता दिइएको थियो।
‘नदीमा बाढीको अत्यधिक दबाब थियो, त्यसैले जोखिम कायमै थियो,’ प्रहरी निरीक्षक केसीले भने, ‘तर सबै सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा तत्काल आवश्यक काम गर्न सकियो।’
आइतबार रातिदेखि लालबकैया नदीको जलस्तर घट्दै गएपछि सोमबार तटबन्धको अवस्था तुलनात्मक रूपमा सामान्य बनेको छ।
तटबन्धमा थप क्षति पुगेको भए मौलापुर नगरपालिका–१ देखि ५ नम्बर वडासम्मका साथै बौधिमाई नगरपालिकाका विभिन्न क्षेत्र डुबानमा पर्न सक्ने जोखिम थियो।
मर्यादपुरको तटबन्धमा ठूलो क्षति पुगे गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवासहितका बस्ती प्रभावित हुन सक्ने प्रशासनको आकलन थियो।
त्यस्तै, फतुवा पुलनजिक भगवानपुर क्षेत्रमा रहेको तटबन्धमा क्षति पुगे बाढीको पानी सदरमुकाम गौरतर्फ पस्न सक्ने जोखिमसमेत रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निरन्तर परिचालन गरिएको थियो। राजपुर र मर्यादपुर क्षेत्रमा कटान भएका स्थानमा तत्काल सुरक्षात्मक उपाय अपनाउँदै तटबन्ध संरक्षणको काम अघि बढाइएको थियो।
संकटको समयमा इन्स्पेक्टर केसीले देखाएको सक्रियताले स्थलगत नेतृत्व, सुरक्षा निकायबीचको समन्वय र तत्काल निर्णयको महत्त्व समेत देखाएको सुरक्षा अधिकारीहरूको भनाइ छ।
उच्चस्तरीय निरीक्षण टोलीमा गृह, सञ्चार तथा कानुनमन्त्री महतोसँगै नेपाली सेनाको मध्यपूर्वी पृतना, महोत्तरीका पृतनापति उपरथी भुवन केसी, मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्ट, राष्ट्रिय अनुसन्धान विभाग मधेश प्रदेशका प्रमुख माधव तिमल्सिना, मौलापुर नगर प्रमुख रिनाकुमारी साह, प्रमुख जिल्ला अधिकारी नारायण पौडेल, प्रहरी उपरीक्षक सिताराम रिजाललगायत सुरक्षा अधिकारी, जनप्रतिनिधि तथा स्थानीयवासी सहभागी थिए।
