दाङ । पाँच जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर अर्कै व्यक्तिलाई नक्कली चालक बनाएर जेल पठाइएको आरोपबारे गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ।
छानबिन प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले जानकारी दिएका छन्।
२०८२ असोज १२ गते सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित राप्ती राजमार्गमा लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो।
दुर्घटनापछि वास्तविक चालक देवबहादुर बिकलाई जोगाएर कपुरकोट–३ डाँडागाउँका कर्णबहादुर खड्कालाई चालकका रूपमा प्रस्तुत गरी मुद्दा चलाइएको आरोप लागेको थियो।
उक्त आरोपपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा गण नेपालगन्जका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले तत्कालीन प्रहरी अधिकारी, वास्तविक चालक, सवारीधनी, यातायात व्यवसायीलगायतसँग बयान लिएर घटनाको अनुसन्धान गरेको थियो।
घटनामा सल्यानका तत्कालीन डीएसपी हेमबहादुर केसी र इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङको भूमिकामाथि समेत छानबिन गरिएको थियो।
कर्णबहादुर खड्काले आफूलाई रकम दिने र केही समयमै जेलबाट निकालिदिने आश्वासन दिएर नक्कली चालक बन्न लगाइएको दाबी गर्दै आएका छन्। जिल्ला अदालत सल्यानले उनलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
यसअघि कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी सापकोटाले घटनामा ठूलो गडबडी भएको प्रारम्भिक रूपमा देखिएको बताएको कुरा सार्बजनिक भएको थियो । नक्कली चालकलाई रकम दिने सहमति भएको र आर्थिक लेनदेनसमेत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सार्बजनिक भएको थियो ।
छानबिन समितिले तयार पारेको प्रतिवेदनमा के–कस्ता विषय र कसलाई दोषी देखाइएको छ भन्ने विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालय पठाइएको र सोही आधारमा आवश्यक प्रक्रिया अघि बढ्ने डीआईजी सापकोटाले जानकारी दिए।
