काठमाडौं । प्रहरी संगठनभित्र सबैभन्दा आधारभूत दर्जा हो प्रहरी जवान । संगठनको उद्देश्य पूर्तिका लागि जनताको सेवामा सबैभन्दा अग्रपंक्तिमा उनै प्रहरी जवानहरु दिनरात नभनी खटिन्छन् ।
तर, संगठनभित्र सबैभन्दा कम सेवासुविधा प्रहरी जवानलाई नै छ । उनीहरुले राज्यबाट पाउने सेवासुविधा अत्यन्तै नाजुक छ । यसरी कम सेवासुविधामा पनि उनीहरुले गर्ने कामको चौतर्फी प्रशंसा भने भइरहेकै छ, हुन्छ ।
दिनरात नभनी खटिने जवानको दयनीय अवस्था हुँदाहुँदै पनि नेताहरु र उपल्लो दर्जाका प्रहरी अधिकृत आदेश दिएकै आधारमा सुखसयल लिइरहेका हुन्छन् । तर, ती जवानहरु आफूहरुले पाउने सेवासुविधामा राज्यले पुर्नविचार गर्नेमा अझै पनि झिनो आशा बोकिरहेका छन् ।
चालू आर्थिक वर्षको साउन १ गतेदेखि प्रहरी जवानको नयाँ तलब २६ हजार ५२ रुपैयाँ छ । यो रकमले उनीहरुले आफ्नो परिवार पाल्नुपर्ने बाध्यता छ । त्यसैले पनि राज्यले उनीहरुको सेवासुविधाबारे पुर्नविचार गर्न आवश्यक छ ।
आवास सुविधासमेत नहुने भएकाले तलबबाट गुजारा चलाउनै नसक्ने अवस्था रहेको उनीहरूको गुनासो छ । ‘कोहीबेला २४ घन्टासम्म पनि ड्युटी गर्नुपर्ने हुन्छ, तर बाँच्न पनि गाह्रो हुने तलब छ,’ एक प्रहरी जवान भन्छन् ।
प्रहरी जवानहरुले सेवासुविधामा सुधारको अपेक्षा गरेपनि सरकारको नेतृत्व गरेका दलका नेताहरु र यसअघिका ३० जना प्रहरी नेतृत्वले ध्यान दिन नसकेको प्रष्टै छ । तर, संगठनमा हालका नेतृत्वले केही सुधारको संकेत भने दिएका छन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले आफ्नो कार्यकालमा प्रहरी जवानहरुको सेवासुविधाबारे चासो राखेका छन् । केही दिनअघि मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आईजीपी कुँवरले उनीहरुको समस्याबारे अवगत गराएको बताइएको छ ।
‘कामअनुसार राज्यले दिएको सेवासुविधा अलि कम भयो, यसमा राज्यले पुर्नविचार गरिदिँदा प्रहरी जवानहरुको पनि मनोबल बढ्नेछ,’ गृहमन्त्रीसँगको भेटमा आईजी कुँवरले भनेको स्रोतले भन्यो ।
त्यस्तै आईजी कुँवरले प्रहरी अधिकृत र जवानबीच रहेको भेद्भाव र असमानता हटाउन निकै पहल गरेका छन् । जसको सुरुवात आईजीपी कुँवरले आफ्नै सचिवालयबाट गरेको बताइएको छ ।
प्रहरी संगठनको नेतृत्व सम्हालेदेखि आईजीपी कुँवरले विभिन्न सुधारका काम गरिरहेका छन् । जसमध्ये प्रहरी जवानको सेवासुविधा र १६ वर्ष पेन्सनअवधी लागू गर्न आईजीपी कुँवर लागि परेपछि तल्लो दर्जाका प्रहरीमा हौसला बढेको छ ।
सिनियर प्रहरी अधिकृतले लिँदै आएका सेवासुविधा र सम्मान जवान, हवल्दार, प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायब निरीक्षक (सई)हरुले समेत पाउने आईजीपी सचिवालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृत बताउँछन् ।
आईजीपी कुँवरले जवान, हवल्दारहरुलाई समेत समान व्यवहार गर्न निर्देशन दिएपछि यसको प्रशंसा भएको छ । यता कुँवर भन्छन्, ‘प्रहरीमा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान–हवल्दारलाई समान व्यवहार गर्न मातहतका प्रमुखहरुलाई निर्देशन दिइसकेको छु । जसले राम्रो सन्देश दिनेछ ।’
अलग-अलग व्यवहार गर्दा तल्लो दर्जाका प्रहरीको मनोबल घट्ने हुँदा कमजोर मनोबललाई उकास्न पनि प्रहरीका हाकिमहरुले यस्तो कुरा सोच्नुपर्ने आईजीपी कुँवर बताउँछन् ।
आधारभूत तहका प्रहरी कर्मचारीको सुविधालाई प्राथमिकता राख्दै सुधारका काम गरिरहेका कुँवर प्रहरी संगठनको नेतृत्वमा आएपछि देशभरका प्रहरी जवानको हौसला बढेको छ । जसको कारण कुँवर प्रहरी संगठनभित्र ‘आइडल’ बन्दै गएका छन् ।
आईजीपी कुँवरले गरिरहेका सुधार सामान्य देखिएपनि यसले संगठनमा समान संस्कारको विकास, भेदभावको अन्त्य र आधारभूत तहका प्रहरी कर्मचारीको मनोबढ बढाउने गरी सुसंस्कारको विकास गर्दै दीर्घकालीन प्रभावकारिता बढाउने चर्चा प्रहरी संगठनभित्र छ ।
त्यतिमात्र होइन, प्रहरी जवानहरुको खानपान र रहनसहन झनै विरक्तलाग्दो छ । खानपानमा पौष्टिक तत्वको संयोजनमा खासै ध्यान दिइँदैन भने ढुक्कसँग राम्ररी बसेर खान समेत पाउँदैनन् । तर, आईजी कुँवरले यसतर्फ समेत चासो देखाएको बताइएको छ ।
