११ कात्तिक २०८० : जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख रहँदा नायब उपरीक्षक (डिएसपी) भीमलाल भट्टराई निलम्बनमा परे । रक्सी खाएर एक महिलामाथि दुव्र्यवहार गरेको उजुरीपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।
२१ असोज २०८० : प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल लुटपाटलमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।
मंगलबार मात्र पक्राउ परेका उनीहरूले एक महिनाअघि मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेको बताइएको छ । पाँचैजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
बर्दीको आडमा उनीहरुले निजी गाडीमा ठमेलबाट बालुवाटार जाने क्रममा कुमार रोका र नवराज नगरकोटीलाई रोकेर लुटपाट गरेका हुन् ।
१९ जेठ २०८० : नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) योग बहादुर पालमाथि एक महिला प्रहरीलाई यौन दुव्र्यवहार गरेको आरोप लाग्यो ।
आरोप लागेपछि एसएसपी पाल यौन दुव्र्यवहारको आरोपमा निलम्बनमा परे । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुव्र्यवहारको आरोपमा उनलाई ६ महिना निलम्बन गरिएको थियो ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले नलम्बन गरेपनि बीचमा उनले जागीरबाटै राजीनामा दिए । केही दिनअघि मात्र एसएसपी पालको राजीनामा स्वकिृत भएको छ । उनले बर्दीको आडमा बलात्कारको प्रयास गरेका थिए ।
१३ साउन २०७९ : बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासतमा रहेकी एक थुनुवा महिलामाथि बलात्कारको प्रयास भयो । बलात्कारको प्रयास गर्ने व्यक्ति थिए, कोहलपुर प्रहरी कार्यालयका असई प्रविण चौलागाईं ।
सोही दिनको बिहान करिब २ बजेको समयमा बहुविवाह मुद्दामा हिरासतमा रहेकी एक महिलालाई कोहलपुर प्रहरीको मुद्दा फाँटमा कार्यरत चौलागाईंले बलात्कारको प्रयास गरेपछि उनलाई हिरासतमा राखेर अनुसन्धान भयो । पछि उनको अपराध पुष्टि भयो । जागिर गयो ।
८ जेठ २०७९ : जतिबेला ८ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो । लुटेराहरु फरार भए । पछि अनुसन्धानको क्रममा उक्त लुटपाटमा प्रहरीको संलग्नता पुष्टि भयो ।
संलग्न हुनेमा १ जना सिपाही र अर्का हवल्दार थिए । जतिबेला अनुसन्धान गरिरहेको प्रहरीले गुपचुपमा राखेको थियो । घटनामा संलग्न भएकामध्ये केही व्यक्ति पक्राउ परे पनि त्यतिबेला लुटपाटमा संलग्न प्रहरी कर्मचारी भने फरार थिए ।
२३ जेठ २०७६ : सेवाग्राहीसँग घूस लिँदै गर्दा तत्कालीन रुपन्देहीको इलाका प्रहरी कार्यालय रन्यौरामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) केशवबहादुर बस्नेत १५ हजार घूस रकमसहित रंगेहात पक्राउ परे ।
यस्तै इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत तत्कालिन इन्सपेक्टर रामबालक रायलाई ठेकेदार दुर्गा लामासँग १२ हजार घूस लिँदै गर्दा प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले रंगेहात पक्राउ गरेको थियो ।
००००
बर्दीको आडमा अपराध कर्ममा संलग्न माथिका केही उदाहरण मात्रै हुन् । अपराधका यस्ता फेहरिस्त केलाउँदा नेपाल प्रहरीमा निकै धेरै भेटिन्छ । तर, प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवर भन्छन्, ‘प्रहरी हुँ भन्दैमा अपराध गर्ने कसैलाई पनि छुट छैन ।’
राज्य कोषबाट लाखौं रुपैयाँ खर्च गरेर सर्वसाधारणको सुरक्षार्थ खटाइएका प्रहरी आफैँ अपराधमा संलग्न हुने क्रम बढेसँगै प्रहरी संगठनको बद्नाम पनि उत्तिकै भइरहेको छ । बर्दीको आडमा अपराध गरेका प्रहरी निलम्बनमा परेको खबर पनि आइरहेको छ ।
लागूऔषध कारोबार, सुन तस्करी, अपहरण र फिरौती असुली, चोरीडकैतीसहित अन्य सामाजिक, आर्थिक र संगठित अपराधमा बर्दीधारीको दादागिरी बढ्दो छ । सस्तो लोकप्रियताका लागि बर्दीको आडमा ‘हिरो बन्ने’ प्रवृति प्रहरी संठनमा मौलाएको प्रष्टै देखिन्छ ।
यता, आईजी कुँवर नागरिकको जनधनको सुरक्षा र कानुन कार्यान्वयनमा समेत कसैसँग कुनै प्रकारको सम्झौता नहुने दाबी गर्छन् । बर्दीको आडमा अपराध गरेका प्रहरी निलम्बनमा परे पनि यस्तो प्रवृत्ति नरोकिए पछि प्रहरी प्रधान कार्यालयले कडाभन्दा कडा नियम ल्याएर कारबाही गर्ने तयारी गरेको छ ।
कानुन कार्यान्वयनका क्रममा प्रहरीबाट समेत केही त्रुटी र कमीकमजोरी भएको होलान् त्यसलाई सुधार गरेर अघि बढ्ने प्रहरी प्रधान कार्यालयको योजना रहेको प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए ।
‘कानुन कार्यान्वयन गर्ने क्रममा हामीबाट पनि कमीकमजोरी भएका छन्, त्यसलाई सुधार गरेर अघि बढ्छौं,’ प्रवक्ता कडायतले भने, ‘तर गम्भीर अपराधमा संलग्न सुरक्षाकर्मी वा सर्वसाधारण जोकोही पनि कानुनी दायरामा ल्याउँछौं ।’
तर, केही प्रहरी कर्मचारीका कारण सिंगो प्रहरी संगठनलाई नै बदनाम गरिनु नहुने कडायतको बुझाइ छ ।
किन गर्छन् प्रहरीले अपराध ?
अपराधीलाई कानुनको दायरामा ल्याउने नेपाल प्रहरीका कर्मचारी नै पटक पटक अपराधमा किन लागिरहन्छन् ? किन मुछिन्छन् ? सर्वत्र चासोको विषय पनि हो ।
करिब ९० हजार जनशक्ति भएको प्रहरी संगठनभित्र केही प्रहरी कर्मचारीहरू व्यक्तिगत लोभलालच, महत्वाकाङ्क्षाका कारण आपराधिक क्रियाकलापमा लाग्ने गरेको एकजना पूर्वडीआईजी बताउँछन् ।
प्रहरी संगठनभित्र यस्तो विकृति बढ्नुको मुख्य कारण प्रहरी कर्मचारी लामो समयदेखि एकै ठाउँमा कार्यरत रहनु पनि एक कारण रहेको ती पूर्वडीआईजीले बताए ।
०००
प्रहरी ऐन २०१२ बमोजिम कुनै पनि घटना वा मुद्दाको अनुसन्धान गरी सबुत प्रमाणसहित सरकारी वकिलमार्फत अदालतमा मुद्दा पेस गर्ने कानुनद्वारा तोकिएको हो निकाय नेपाल प्रहरी ।
समाजमा शान्ति कायम गर्ने सिलसिलामा कानुनले गर्न नहुने काम भनी तोकिएको काम गरेमा प्रहरीले अभियुक्तलाई आफ्नो नियन्त्रणमा लिई वा नलिई सबुद प्रमाणसहित मुद्दा दर्ता गर्ने अधिकार नेपाल प्रहरीलाई छ ।
तर, संगठनको बदनाम हुने गरी केही प्रहरी अपराधको बाटो समात्छन् । कडा अनुशासन हुने र चेन अफ कमान्डमा चल्ने सुरक्षा निकायमा हुने यस्ता घटना संवेदनशील मानिन्छ ।
यो समस्या राज्यका ४ वटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) मा छ । तर, नेपाल प्रहरी समाजमा बढी घुलमिल हुने भएकाले सर्वसाधारणको समेत प्रत्यक्ष जनचासो हुनेछ । त्यसैले पनि स सानो कुराहरु बाहिर आउनेछ ।