नेपालको वर्तमान राजनीति अन्योलपूर्ण अवस्थामा रहँदा नागरिकको सुरक्षा तथा भौतिक संरक्षाको जिम्मेवारी बोकेको आन्तरिक सुरक्षा निकाय- नेपाल प्रहरीले कात्तिक २७ गतेदेखि नयाँ ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) पाउनेछ।
हालका आईजीपी चन्द्रकुबेर खापुङको २७ कात्तिकमा अनिवार्य अवकाश हुने भएकाले नयाँ आईजीपी नियुक्त गर्न सरकारले तयारी थालेको छ।
आईजीको दौडमा चार जना प्रहरी अतिरक्त महानिरीक्षक (एआईजी)हरुबीच प्रतिस्पर्धा तीव्र देखिएको छ । जसमा देखिएका छन्, एक नम्बरमा दानबहादुर कार्की, दुई नम्बरमा राजन अधिकारी, तीन नम्बरमा डा. मनोज केसी र चार नम्बरमा सिद्धीविक्रम साह ।
पहिला तीन जना (कार्की, अधिकारी र केसी) २०५६ सालमा प्रहरी निरीक्षकका रूपमा नियुक्त भएका अधिकारी हुन् भने चौथो नम्बरका शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन्।
गत वर्षहरूमा आईजीपी चयनमा राजनीतिक भागबण्डा र सहकार्यको परम्परा कायम हुँदै आएको भए पनि यसपटकको चयनले त्यो परम्परा तोड्ने वा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ। सरकार योग्य र सक्षम नेतृत्वको खोजीमा रहेको बताइएको छ।
हालको सरकारले नेपाल प्रहरीको आईजी चयनमा विगतका जस्तै म्यानेजमेन्ट-आधारित (म्यारिड) निर्णय नदिने संकेत देखाएको छ। जेएनजी आन्दोलनपछि अब बन्ने आईजी अघिल्ला राजनीतिक दिनका जस्तै प्रभाव र दासत्वको नीति चिर्ने अपेक्षा गरिएको छ।
यो सरकार चुनावी सरकार भएकाले, यस सरकारका मन्त्रीहरूले आगामी चुनावमा भाग लिन नपाउने भएकाले पनि आईजी चयन निष्पक्ष र विवादरहित हुनेमा विश्वास गरिएको छ।
गृह मन्त्रालयका स्रोतका अनुसार, यसपटकको चयनमा उम्मेदवारहरूको कार्यसम्पादन, नेतृत्व क्षमता र व्यावसायिक दक्षतालाई प्रमुख मापदण्ड मानिनेछ।
नेपाल प्रहरीका अब्बल अधिकारी तीन पक्षबाट मूल्याङ्कन गरिन्छ
१. फिल्ड कमाण्ड
२. प्रशासनिक कमाण्ड
३. अनुसन्धान कमाण्ड
यी तीनै पक्षमा दक्षता भएकालाई मात्र योग्य नेतृत्व मानिन्छ। अबका दाबेदारहरू पनि आ–आफ्नो क्षेत्रमा निपुण मानिन्छन्।
दानबहादुर कार्की
वरियतामा पहिलो नम्बरमा रहेका कार्कीलाई नेपाल प्रहरीको कमाण्डर अफिसरका रूपमा हेरिन्छ।
जेन्जी आन्दोलन (भदौ २४) पछि उपत्यका प्रहरी कमाण्ड सम्हालेका उनले विभिन्न जिल्लामा उत्कृष्ट कार्यसम्पादन गरेका छन्।
भुटानी शरणार्थी मुद्दाको अनुसन्धान तथा कारबाही उनको नेतृत्वमा भएको थियो। तत्कालिन अवस्थामा पूर्वगृहमन्त्री बालकृष्ण खाणले म्याद थप गर्न लैजादा म पनि हेरौंला भनी धम्की दिएको सर्वत्र चर्चा समेत भएको थियो।
त्यसैले स्वभावमा ठाडा र हक्की स्वभावका कार्कीलाई ३३ औं आईजीका बलिया दाबेदारका रूपमा हेरिएको छ।
राजन अधिकारी
अधिकारी प्रशासनिक दक्षता र संयमित नेतृत्वका लागि चिनिन्छन्। सरल र शालीन व्यक्तित्वका कारण संगठनभित्र लोकप्रिय छन्।
मनोज केसी
केसी अनुसन्धान क्षेत्रमा अब्बल अधिकारी मानिन्छन्। अपराध अनुसन्धान उपत्यका प्रमुख हुँदा उनले भुटानी शरणार्थी प्रकरण उजागर गरेका थिए, जसले नेपाली राजनीतिमा हलचल ल्यायो र सत्ता समीकरण नै परिवर्तन भयो।
कानुनी प्रक्रिया र अनुसन्धानमा निपुर्ण केसी पनि आईजीका बलिया दाबेदार हुन्।
सिद्धीविक्रम शाह
राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका शाह सूचना संकलन र विश्लेषणका दक्ष अधिकारी मानिन्छन्।
खुफिया सञ्जालको अनुभव र सूचक परिचालन क्षमताका कारण उनी पनि बलिया उम्मेदवारको रूपमा हेरिएका छन्।
जेनजी आन्दोलनपछि प्रहरी नेतृत्वको चुनौती
भदौ २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’ले राज्य संयन्त्र नै हल्लाइदियो। उदण्डकारी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाले नागरिकहरूमा त्रास बढाएको छ।
साथै, कारागारबाट हजारौँ कैदी भाग्नु, हतियार तथा गोलीगठ्ठा लुटिनुजस्ता घटनाले नागरिकमा भय र अन्योल थपेको छ।
यस सन्दर्भमा सरकारले नयाँ आईजी चयन गर्दा दुई प्रमुख दायित्वका बीच सन्तुलन गर्नुपर्ने देखिन्छ- नागरिक सुरक्षा सुनिश्चित गर्ने र तोकिएको समयमा निष्पक्ष चुनाव सम्पन्न गर्ने।
जेएनजी आन्दोलनपछि प्रहरी संगठनको मनोबल घटेको आकलन भइरहेको छ। त्यसैले, अब बन्ने ३३औं प्रहरी महानिरीक्षकले संगठनलाई पुनः आत्मविश्वास दिलाउन, प्रहरीको पेशागत साख पुनःस्थापित गर्न र आगामी निर्वाचन सफलतापूर्वक गराउन नेतृत्व दिनुपर्ने चुनौती छ।
नेपाल प्रहरीको नयाँ नेतृत्व चयन र आगामी राजनीतिक स्थायित्व- दुवैका लागि यो नियुक्ति निर्णायक बन्ने देखिएको छ।
