काठमाडौं । भदौ २३ गते देशभर जेन–जी पुस्ताको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीमा १९ जनाको मृत्यु भएपछि देशभर विरोध चर्किएको थियो। त्यही बेला प्रहरी संगठनका ८ एआईजीमध्ये दुईजना कार्यक्षेत्रमै अनुपस्थित भएका थिए।
अपराध अनुसन्धान विभागका एआईजी राजन अधिकारी एकाएक बिरामी परेका थिए भने प्रदेश समन्वय विभागका एआईजी डा. मनोज केसी प्रहरी प्रधान कार्यालयकै निर्देशनमा ब्याटन छनोट अनुगमनका लागि काठमाडौं बाहिर खटिएका थिए।
त्यो संकटपूर्ण समयमा एआईजी दानबहादुर कार्की र सिद्धिविक्रम शाहले मात्रै कमान्ड सम्हालेका थिए। सेना र सशस्त्र प्रहरी फिल्डमा नउत्रिँदा प्रहरी एक्लै दबाबमा परेको थियो।
रोचक कुरा— भदौ २३ को आन्दोलनताका नेतृत्व भूमिकामा अनुपस्थित रहेका अधिकारी र केसी अहिले प्रहरी महानिरीक्षक (आईजीपी)० बन्ने प्रतिस्पर्धामा छन्। उनीहरूसँगै एआईजी दानबहादुर कार्की र सिद्धिविक्रम शाह पनि नेतृत्वका लागि सक्रिय दौडधुपमा छन्।
बरियतामा अगाडि कार्की छन् भने जेनएजी आन्दोलनमा कार्यक्षेत्रमा अनुपस्थित अधिकारी दोस्रो, केसी तेस्रो र कार्यक्षेत्रमा उपस्थित साह चौथो नम्बरमा छन्। तर, वर्तमान सरकारले यी चारमध्ये कसलाई प्रहरी संगठनको नेतृत्व सम्हाल्ने अवसर दिनेछ, त्यो हेर्न बाँकी छ।
आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २७ मा अवकाश हुँदैछन्। त्यसपछि संगठनको नयाँ नेतृत्व चयन हुने तयारीमा गृह मन्त्रालय छ।
