काठमाडौं । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका घटनाको छानबिनमा जुटेको उच्चस्तरीय जाँचबुझ आयोग र नेपाल प्रहरीबीच तनाब तीव्र बनेको छ।
आयोगले मागेको विवरण नबुझाएको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई २४ घण्टे स्पष्टीकरण मागपत्र पठाएपछि विवाद नयाँ चरणमा पुगेको हो। आयोगले जाँचबुझमा असहयोग गरेको भन्दै खापुङमाथि कारबाहीसम्मको चेतावनी दिएको छ।
आयोगले आन्दोलनका दिन खटिएका प्रहरी अधिकारी र जवानहरूको नाम, जिम्मेवारी र आदेश दिने तहगत विवरण मागेको थियो। तर, प्रहरी प्रधान कार्यालयले ‘आईजीपीदेखि जवानसम्म खटिएका थिए’ भन्ने सामान्य जवाफ मात्र पठाएपछि आयोग असन्तुष्ट बनेको हो।
स्पष्टीकरण मागेपछि प्रहरीले केही आंशिक विवरण पठाए पनि आयोगले खोजेको पूर्ण जानकारी अझै पाएको छैन।
यसबीच आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरूको बयान लिन सुरु गरेको छ। पहिलो चरणमा गोली चल्ने अवस्था र आन्दोलन तोडफोडतिर मोडिनुको कारणबारे सोधपुछ भइरहेको छ।
आयोगले क्रमशः जिम्मेवार प्रहरी अधिकारी, प्रमुख जिल्ला अधिकारी, तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी, गृहमन्त्री रमेश लेखक हुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसम्मको बयान लिने तयारी गरेको छ।
खापुङमाथि अब ‘असहयोगी आईजीपी’को आरोप थपिएको छ, र आयोगसँगको यो तनाब उनको अवकाशपूर्वकै सबैभन्दा ठूलो चुनौती बन्न पुगेको छ।
