काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि कार्यालयमा अनुपस्थित रहेकी कारण गृह मन्त्रालयले सेवाबाट हटाउने चेतावनीसहित सार्वजनिक सूचना जारी गरेको छ।
मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ कि निरीक्षक लामाले सात दिनभित्र कार्यालयमा हाजिर भई गैरहाजिरीको कारणसहित सन्तोषजनक स्पष्टीकरण दिनुपर्नेछ।

गृहका अनुसार लामा गत असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्। उनले सुरुमा १० दिनको बिदा लिएकी थिइन् र पछि १० दिन थप बिदा स्वीकृत गराएकी थिइन्। बिदा सकिएपछि साउन १६ गतेदेखि हालसम्म उनी कार्यालयमा हाजिर भएकी छैनन्।
अनुपस्थित रहेकी लामाको काभ्रेको बेथानचोक गाउँपालिका–५ स्थित घरमा समेत सूचना टाँस गरिएको थियो। त्यसपछि पनि सम्पर्क नहुँदा गृह मन्त्रालयले अन्ततः सार्वजनिक सूचना प्रकाशित गरेको हो।
सूचनामा भनिएको छ ‘सात दिनभित्र कार्यालयमा हाजिर नभई सन्तोषजनक स्पष्टीकरण नदिएमा, प्रहरी नियमावली २०७१ को नियम ११३(१)(च) र नियम १०९(ख)(१) बमोजिम, बिना बिदा लगातार ४५ दिन अनुपस्थित भएको कसूरमा सेवाबाट हटाइनेछ।’
