काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै स्पष्टीकरण सोधिएको छ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आईजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
आयोगका प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माले आयोगको काममा बाधा पुर्याउने प्रयास किन भयो भनेर बुधबार स्पष्टिकरण माग गरेको बताए । उनले भने, ‘हामीले मागेको विवरण प्रहरीले ढिलो पठायो, सबै तथ्यांक पनि पठाएन। त्यसपछि स्पष्टिकरण माग गरेका छौं ।’
आयोगले प्रहरीलाई यी विवरण माग गर्दै सुरुमै पत्राचार गरेको थियो। तर झण्डै एक महिना लगाएर प्रहरीले जवाफ दिए पनि माग गरेका विवरण उपलब्ध नगराएको आयोगको गुनासो छ। प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी महानिरीक्षकदेखि जवानसम्म देशैभरका प्रहरी फिल्डमै खटिएको जवाफ आयोगलाई दिएको थियो।
प्रहरीको यो जवाफपछि आयोग असन्तुष्ट बनेको हो।
