काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेनजीको चाहनालाई प्रहरीले पूरा गर्ने बताएका छन् ।
‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएको प्रहरी प्रभाग नयाँ बसपार्कको भवन पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको अपेक्षा आम नागरिकको अपेक्षा भएकाले यसलाई पूरा गर्न प्रहरीले प्रयास गर्ने बताएका हुन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले गोँगबु र नयाँबसपार्क क्षेत्र सुरक्षाको दृष्टिकोणले एकदमै संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रको सुरक्षाका लागि प्रहरीसँगै नागरिकको पनि भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।
‘गोँगबु क्षेत्रमा दैनिक आठदेखि १० हजार मानिसहरु आवतजावत गर्ने गरेका छन्, प्रत्येक नागरिकको सुरक्षा गर्ने दायित्व राज्य र नेपाल प्रहरीको हो,’ उनले भने ।
जहाँ धेरै मानिसको आवतजावत हुन्छ त्यहाँ धेरै अपराध हुने गरेको उनको भनाइ छ ।
कार्कीले जेनजी आन्दोलनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालयमा क्षति भएकामा हालसम्म १८० भवन नागरिकको सक्रियतामा पुनर्निर्माण भइसकेको बताए ।
उनले नयाँ भवनबाट प्रहरीले उच्च मनोबलका साथ काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रहरी प्रभाग नयाँबसपार्कको भवन पुनर्निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।
