काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरको कार्यकाल अझैं १६ महिना पूरा बाँकी छ । तर, कुँवरपछि आईजी बन्न अहिलेको परिस्थितिमा तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु प्रतिस्पर्धामा छन् ।
एआईजीत्रय दीपक थापा, सुदीप गिरी र टेक बहादुर तामाङ प्रतिस्पर्धामा रहेका हुन् । उनीहरु तीनैजना अहिल्यैदेखि आफू अनुकुल वातावरण सिर्जना गर्न लागिपरेका छन् । सबै राजनीतिक दलका नेताहरुलाई रिझाउनुपर्ने बुझेका उनीहरुले नेताको चाकडी सुरु गरेका छन् ।
नेताको चाकडी नगरी आईजी नहुने प्रमाणित भएपछि उनीहरु अहिले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खुसी पार्ने प्रयत्न गर्दैछन् तीनैजना ।
हाल प्रधानमन्त्री छन् प्रचण्ड । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिलेको अवस्थामा मुख्य निर्णायक हुन् । यदि प्रचण्ड नै प्रधानमन्त्री रहिरहेको अवस्थामा एआईजी थापा आईजी बन्नेछन् ।
बरियतामा समेत पहिलो नम्बरमा रहेका थापाको अन्य दलका नेताहरुसँग पनि राम्रै सम्बन्ध रहेको बुझ्न सकिन्छ । जसले गर्दा उनै थापा आईजीको लागि मुख्यत प्रबल दाबेदार हुन् ।
तर, १६ महिनापछि अहिलेको सरकार फेरबदल हुन पनि सक्छ । जतिबेला कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्न सक्छन् । त्यतिबेला देउवाले आफू निकटका व्यक्तिलाई आईजी बनाउन सक्ने अनुमान गर्न सकिन्छ ।
पहिलो नम्बरका एआईजी थापालाई पन्छाएर देउवाले एआईजी गिरी र तामाङमध्ये एकलाई आईजी बनाउन सक्छन् । गिरीको नेपाली कांग्रेसका नेताहरुसँग राम्रो सम्बन्ध रहेको कारण पनि उनको सम्भावना बढ्ने देखिन्छ ।
त्यस्तै तेस्रो नम्बरका एआईजी तामाङको समेत राजनीतिक दलका नेताहरुसँग राम्रै सम्बन्ध रहेको बताइन्छ । तर, उनको राजनीतिक सम्बन्ध त्यति धेरै बाहिर भने आएको छैन ।
पहिलो र दोस्रो नम्बरका एआईजीको टकरावले तामाङलाई फाइदा पुग्न पनि सक्छ । जस्तो तत्कालिन प्रहरी नायब महानिरीक्षक (डिआईजी)द्धय नवराज सिलवाल र जयबहादुर चन्दको टकरावले प्रकाश अर्याल आईजी नियुक्त भएका थिए ।
अबको प्रहरी प्रमुख अर्थात ३१ औं आईजीको लागि पनि त्यस्तै नहोला भन्न सकिन्न । एआईजीद्धय थापा र गिरी मुख्यतय प्रतिस्पर्धीको रुपमा देखिएका छन् । उनीहरु दुईको टकरावको फाइदा तामाङलाई पुग्न सक्छ । उसो त एआईजी तामाङ आफैं अब्बल प्रहरी अधिकृत समेत हुन् ।
यता, कांग्रेस माओवादीको सरकार ढलेर एमालेको नेतृत्वमा सरकार गठन भएमा गिरी र तामाङको सम्भावना बढ्नेछ । एमाले नेताहरुले एआईजी थापा माओवादी समर्थन व्यक्ति भएको आरोप लगाउने गरेका छन् ।
संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले ३० वर्षे हटे आईजी कुँवरको कार्यकाल थप लम्बिनेछ । जसको फाइदा चाहिँ एआईजी थापालाई हुनेछ ।
हाल एआईजी थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, गिरीले प्रदेश समन्वय विभाग र तामाङले अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका छन् ।
उनीहरु २०५२ भदौ १९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा प्रवेश गरेका हुन् । उनीहरुमध्ये जो आईजी भएपनि छोटो समय नेतृत्व गर्नेछन् ।