काठमाडौं । महानायक राजेश हमालले सञ्चालन गर्ने कृषि रियालिटी शो ‘र’ (RAW– Revolutionary Agriculture War) को नयाँ प्रोमो सार्वजनिक गरिएको छ ।
ओएसआर रियालिटीको युट्युब च्यानलमार्फत सार्वजनिक उक्त प्रोमोमा शोका मास्टर होस्ट महानायक राजेश हमालले कार्यक्रमको ढाँचा र शैलीबारे जानकारी दिएका छन् ।
विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटी शो भनेर दाबी गरिएको कार्यक्रममा प्रतिस्पर्धीका रूपमा किसान र कृषि प्राविधिक सहभागी हुनेछन् । तर, किसान र प्राविधिक एक अर्का विरुद्ध प्रतिस्पर्धा भने गर्ने छैनन् ।
भिडियोका अनुसार, किसान र कृषि प्राविधिक एक अर्कालाई सहयोग गरी अगाडी बढ्नेछन् । यसरी यस शो मा कृषि प्रविधिक तर्फ एक र किसान तर्फ एक, छुट्टा छुट्टै विजेता बन्ने आयोजकले जनाएको छ ।
यस रियालिटी शो मा प्रतिस्पर्धीहरुले कृषिका विभिन्न आयाम अन्नबाली, नगदेबाली, पशुपालन, कृषि पर्यटन, उत्पादन, बजार व्यवस्थापन, प्रविधी लगायतका बिषयमा रोमाञ्चक प्रतिस्पर्धा गर्नेछन् ।
कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधार बनाइएको यस शो मा कृषि र मनोरञ्जनको मिश्रण गरिएको सार्वजनिक प्रोमोबाट स्पस्ट हुन्छ ।
नयाँ सोचका साथ छिट्टै आयोजना हुन गइरहेको कार्यक्रमको दुई हप्ता अघि पहिलो प्रोमो सार्वजनिक गरिएको थियो । उक्त प्रोमोले दर्शकमाँझ उत्सुकता जगाएको थियो ।
राजेश हमालले मास्टर होस्ट भएर सञ्चालन गर्ने कार्यक्रमको मुख्य निर्णायक नेपाल सरकारका पुर्व कृषि सचिव डा. योगेन्द्र कार्की र एक निर्णायक डा. नम्रता पाण्डे रहेका छन् ।
दुबैजना निर्णायकले कृषि विषयमै विद्यावारिधी गरी सोही क्षेत्रको प्रवर्दन एवं विकासमा काम गर्दै आएका छन् । टौवा क्रियशनका प्रमुख विजय बस्याल कार्यकारी निर्माता रहेको कार्यक्रम ‘र’ ई स्क्वायारले निर्माण गर्न लागेको हो ।
यस अघिको सफल रियालिटी शो ‘पोएट आइडल’ का कन्सेप्ट कृएटर शैलेश कँडेल क्षेत्री कै कन्सेप्ट तथा निर्देशनमा तयार हुनेछ ।
भिडियो हेर्न लिंक
https://www.youtube.com/watch?v=2tqDnKe-Cqg
