काठमाडौं । प्रहरी सेवा प्रवेशदेखि नै संगठनमा इमान्दार छवि बनाएका बसन्त कुँवर नेपाल प्रहरीका ३० औं महानिरीक्षक (आईजी) हुन् । प्रहरी प्रहरीजस्तै हुनुपर्ने मान्यता राख्ने कुँवरको संगठनभित्र निडर र साहसिक छवि छ ।
१० चैत २०७९ देखि प्रहरी संगठनको नेतृत्व सम्हालेका कुँवर छोटो समयमै धेरैको मन जितेका छन् । ५३ वर्षीय कुँवर ब्यक्तित्व तथा स्वास्थ्यका दृष्टिकोणले पनि उत्तिकै फिट र आकर्षक देखिन्छन् ।
करिब ८० हजारको प्रहरी फोर्सको नेतृत्व गरिरहेका कुँवरमा न कुनै चिन्ता छ, न त कुनै तनाव नै । उनी ‘स्टेट फरवार्ड’ शैलीका छन् । त्यही शैलीमा काम गर्ने उनको स्वभाव छ ।
सिंगो प्रहरीको कमाण्ड सम्हाल्ने कुँवरले तनाव रिलिफमा काम गरेकैले होला, उनी उति तनाव लिँदैनन् । बरु, उनी चिन्ता गर्नेभन्दा चिन्तन गर्नेमा जोड दिन्छन् । ‘कसरी राम्रो रिजल्ट दिने, कसरी राम्रो गर्ने भन्ने चिन्तन गर्नु स्वभाविक हुन्छ, उनी थप्छन्, ‘चिन्ता मात्रै ग¥यो भने काम हुँदैन ।’
आईजी नियुक्त भएपछि कुँवरले संगठनभित्र र बाहिर गर्नुपर्ने कामहरु गरिरहेका छन् । जस्तो सरुवा, बढुवा निरन्तर रुपमा भइरहेको छ भने संगठनभित्र सिस्टम बसाल्न गर्नुपर्ने ऐन, नियमहरुलाई समेत संशोधन गर्न पछि हटेका छैनन् ।
कुँवरको कार्यकालमा भ्रष्टाचारीहरुको हायलकायल भएको छ । भागाभाग भएको छ । कुनैपनि घटनाको अनुसन्धानलाई कुँवर आफैं बुझ्ने कोसिस गर्छन्, यसरी गर्न भनेर निर्देशन दिने गर्छन् । जसले गर्दा आजसम्म उनको कार्यकालमा जुनसुकै घटनाको अनुसन्धानमा प्रहरी अब्बल साबित भएको छ ।
२८ वर्षसम्म ‘लो प्रोफाइल’मा रहेर काम गरेको अनुभव कुँवरले आईजी भएपछि आफूभन्दा जुनियर प्रहरी अधिकृतहरुलाई समेत सेयर गर्ने गरेका छन् । जसले गर्दा अनुसन्धानमा समेत दबाब नआउने कुँवर बताउँछन् ।
अरु आईजी नहुँदै चर्चामा आउँछन्, र आईजी भएपछि गुमनाम हुन्छन् । तर, कुँवर आईजी भएपछि मात्रै चर्चामा आएका अधिकृत हुन् । त्यसैले उनी गफमा भन्दा बढी काममा फोकस हुने गर्छन् ।
आईजी हुनुअघि कुँवरलाई जति पनि जिम्मेवारीमा पठाइयो, नेपाल प्रहरीको साख गिराउने काम कहिँकतै गरेनन् । जसले गर्दा कुँवर आफ्ना ब्याचमेटदेखि सबै सिनियर प्रहरी अधिकृतहरुको नजरमा राम्रा मानिन्छन् ।
