काठमाडौ । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’का कलाकार हरिश निरौला ‘कक्रोज’ राइड सेयर एप ‘सवारी’ को ब्रान्ड एम्बेसडर बनेका छन् ।
नेपाली युवाहरु मिलेर बनाएको सवारीले सोमबार काठमाडौमा एक कार्यक्रम आयोजना गरी कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो ।
नेपाली युवाहरू मिलेर बनाएको एपले देशका विभिन्न सहरमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिनेछ । यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलै अनलाइन सेवा लिन सकिनेछ ।
कार्यक्रममा बोल्दै कक्रोजले बजारमा आएका विभिन्न राइडिङ सेयर एप भएता पनि ति विदेशी लगानी र उत्पादन भएको भन्दै त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गरे ।
सवारी नितान्त नेपाली युवाहरुले निर्माण गरेको हुँदा सबैले यसलाई प्रयोग गर्न अनुरोध गरे । आफू सवारीको प्रचार प्रसारको लागि सदैव जिम्मेवार रहने बताउँदै कक्रोजले यस सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीलाई पूर्ण सन्तुष्टि दिनेमा विश्वस्त रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका निर शाहले सवारीले अन्य विदेशी कम्पनीका राइडिङ सेयर कम्पनीलाई चुनौती दिएर सेवा प्रदान गर्नेमा विश्वास रहेको बताए ।
ति कम्पनीहरुले आफ्नो प्रभाव बढाउन सवारीलाई बद्नाम समेत बनाउन विभिन्न कार्य गर्न सक्ने कुरा इंगित गर्दै त्यसप्रति चनाखो हुदै सुरक्षित, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्न शाहले सुझाव दिए ।
कार्यक्रमका विशेष अथिति दीपक आचार्य काकुले सवारीले देशमै रोजगारीको सिर्जन गर्न टेवा पुर्याउनेमा विश्वास व्यक्त गर्दै स्वदेशी उत्पादन र विचारलाई प्रोत्साहन गर्न अनुरोध गरे ।
नेपाली युवाहरु प्रसिद्ध नेपाल र खगेन्द्र नेपाल दुई जना मिलेर यो सेवा सुरुवात गरेका हुन् ।
