काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिका, ८ थुम्काकी १२ वर्षीया रचना विक जलेर सख्त घाइते भएको डेढ महिना भयो । गत २९ जेठको बिहान खाना खाने क्रममा अगेनोबाट एक्कासि रचनाको कुर्तामा आगो सल्कियो । बिहानै बुबा दुर्गाबहादुर काममा निस्किएका थिए । आमा राधिका पनि जंगल गएकी थिइन् ।
कुर्तामा आगो दन्किएपछि रचनाले चिच्याउँदै गुहार मागिन् । त्यो समय पानीको अभावले घरमा खानेपानीसमेत नभएको अवस्थामा उनले जिउमा पोख्न पानीसमेत पाइनन् । छिमेकीले दिदीभाइको झगडा भएको सोचेछन् ।
तर, रचना आगोले जलेर विक्षिप्त थिइन् । केहीबेरमा रचनाको शरीरमा लागेको आगो फुपू र हजुरआमाले निभाए । रचनालाई लगत्तै गुल्मी अस्पताल पु¥याइयो । तर, अवस्था जटिल भएकाले अस्पतालले पाल्पा मिसन अस्पतालमा रेफर ग¥यो ।
दुर्गाबहादुरले ऋण गरेरै भए पनि छोरीलाई पाल्पा पु¥याए । मिसन अस्पतालमै ९ दिन उपचार भयो । सो अस्पतालले पनि काठमाडौं लैजान सुझाव दिएपछि दुर्गाबहादुरका दम्पतीले छोरीलाई राजधानीको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराइरहेका छन् ।
‘पाल्पाको उपचारमा ५० हजार भ्याइयो । पाल्पा र काठमाडौं गर्दा एम्बुलेन्समै ३५–३६ हजार सकियो, राधिकाले भनिन्, ‘अस्पताल बसाइको टुंगो छैन । सुष्मा कोइराला मेमोरियल अस्पतालमा अप्रेसन गरेको डेढ लाख रुपैयाँ भइसकेको थियो ।
बालिका र परिवारको अवस्था देखेर ‘रुटिन अफ नेपाल बन्द फेसबुक पेजका उज्वलविक्रम थापाले एक लाख सहयोग गरे । अझै विक परिवारको थाप्लोमा ४० हजारभन्दा बढी अप्रेसनकै खर्च तिर्न बाँकी छ । त्योबाहेक खानपान, औषधिउपचार र बसाइको जोहो गर्न निकै मुस्किल परिरहेको राधिकाले गुनासो गरिन् ।
दुर्गाबहादुर विक मजदुरी गर्छन् । ०७१ सालमा मलेसिया पनि गएका थिए । त्यहाँ पुगेको ११ महिनामै कम्पनी बन्द भएपछि नेपाल फर्किएका थिए । भनेअनुसार काम र दाम नपाएका दुर्गाबहादुरसँग गाउँमा खोजेको ऋणसमेत तिर्ने उपाय भएन । सम्पत्तिको नाममा खग्रेटाले बारेको एउटा छाप्रो छ ।
गत वर्ष जनता आवास कार्यक्रमअन्तर्गत उनले घर पाउने भए । राम्रो ओतको आसमा विक परिवार खुसी भए । पहिलो किस्ता ३५ हजार पाए । थप किस्ता पाउने आसमा विकले लालपुर्जा धितो राखेर पाँच लाख ऋण निकाले ।
घर छाउने अवस्थामा छ । तर, सरकारले कबुलअनुसारको किस्ता दिएको छैन । झ्यालढोकामा लेउ उम्रियो । छोरी जलेर अस्पतालमा छटपटाइरहेकी छे, उनले भने, ‘गरिबप्रति सरकार र दैव दुवै निर्दयी रहेछन् ।
रचना सो परिवारकी जेठी छोरी हुन् । उनी सिद्धबाबा माविको कक्षा ६ मा पढ्छिन् । उनको उपचारका लागि अहिले विद्यालय र समुदायस्तरमा चन्दा संकलन भइरहेको छ । लामो समय उपचार गर्नुपर्ने भएकाले सो परिवारलाई आर्थिक संकट देखिएको छ ।
साभार : नयाँपत्रिका
