काठमाडौं । बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई गणपति प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले कुटपिट गरी घाइते बनाएका छन् ।
एसपी खड्काको कुटपिटबाट जवानद्धय भण्डारी र अधिकारीको कानको जाली फुटेको छ । शनिबार बिहान ८ः३० बजेको समयमा एसपी खड्काले उनीहरुमाथि कुटपिट गरेका हुन् ।
कानको जाली फुटेपछि उनीहरुलाई उपचार गर्न समेत जान दिइएको छैन् । बन्धक जस्तै बनाएर राखिएको स्रोत बताउँछ ।
शुक्रबार जवानद्धय भण्डारी र अधिकारी सोही गणका अमल्दारलाई खबर गरी बाहिर निस्केका थिए । बाहिर किन निस्केको, कसलाई सोधेर निस्केको, म हुँ गणको हाकिम भन्दै एसपी खड्काले उनीहरुमाथि कुटपिट गरेको स्रोत बताउँछ ।
‘बाहिर नै निस्केको भएपनि उनीहरुमाथि कानुनअनुसार कारबाही गर्नुपथ्र्यो,’ स्रोत भन्छ, ‘चेन अफ कमाण्डमा चल्ने संगठनको आफ्नै नीति नियम छ । नैसियत दिएर हो या निलम्बन गरेर जागिरबाट हटाउन सकिन्थ्यो । कुटपिट नै गर्नु हुँदैन्थ्यो ।’
बागमति प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) किरण राणानै जवानद्धयलाई तानेर गणमा ल्याएर राखेकी थिइन् । राणाको आदेशमा गणमा तानेर राखेपछि उनीहरुलाई बाहिर निस्किन समेत दिइएको थिएन । उनीहरु भन्छन्, ‘गणभित्र यतिसम्म गरेका थिए कि आत्महत्या गर्नेसम्म सोच आएको थियो ।’
एसपी खड्काको कुटपिटपछि अन्य प्रहरीहरु असुरक्षित महसुस गर्न थालेका छन् । सोही गणका कार्यरत एक प्रहरी जवान भन्छन्, यसरी हाम्रै अगाडि साथीहरुलाई मरणासन्ने हुनेगरी कुटेपछि असुरक्षित महसुस गर्न थालेका छौं ।
एसपी खड्का भने यस घटनालाई अस्वीकार गर्छन् । स्कुपखबरसँगको कुराकानीमा एसपी खड्काले भने, ‘बाहिर सोध्दै नसोधी गएर जाँड खाएर होहल्ला गरेपछि आज बिहान सम्झाएको मात्र हुँ । कुटपिट गरेको छैन ।’
