काठमाडौं । गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेको झण्डै एक सय किलो सुन प्रधानमन्त्री कार्यालय मातहतको कार्यालय राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सुनको यकिन परिमाण भने अझै आइसकेको छैन ।
यद्यपि सुन बरामद भएपछि यो प्रकरण सडकदेखि सदनसम्म तातेको छ । विपक्षी दलका नेता कार्यकर्ता मात्र नभएर सत्तापक्षका नेता कार्यकर्ताले पनि सुन कसरी र कसको सेटिंगमा बाहिरियो भने प्रश्नहरु खडा गरेका छन् । जसले गर्दा सरकारमाथि चौतर्फी दबाब छ ।
यता उपप्रधान एवंम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा सरकारले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको दाबी गरेका छन् । विभागले अनुसन्धानमा नेपाल प्रहरीको सहयोग मागेपछि प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीलाई समेत खटाएको छ ।
मुख्य तस्करी पक्राउ नपरेको भन्दै राजनीतिक आक्षेपहरु लाग्नुका साथै घेराबन्दीकै बीच पनि विभाग र प्रहरीले आफ्नो अनुसन्धानलाई तीब्र पारिरहेका छन् । तर, अनुसन्धानमा खटिएका प्रहरीदेखि विभागका कर्मचारीहरु सुन कारोबारीको मुख्य नाइकेसम्म पुग्न सकेका छैनन् ।
विश्वस्त स्रोतका अनुसार यस प्रकरणमा मुख्यतः तीन जनामाथि विशेष अनुसन्धान भइरहेको छ । जुन सुन उनीहरुले तस्करी गरेको आशंका छ । व्यापारी दीपक मल्होत्रा, राकेश अडुकिया र अर्का एक व्यापारीमाथि अनुसन्धान केन्द्रीत रहेको विभाग स्रोत बताउँछ ।
तर, मल्होत्राले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । सुन बरामद भएको भोलिपल्टै हतारहतार पत्रकार सम्मेलन गरेर व्यापारी उनले आफू सुन प्रकरणमा संलग्न नभएको भन्दै सफाइ दिएका थिए ।
आफू विगतमा सुन व्यापारमा संलग्न भए पनि पछिल्लो समय त्यस्तो व्यापारमा नभएको उनको प्रष्टीकरण थियो । मल्होत्रा त्यस्ता व्यक्ति हुन्, जो विदेशी मुद्रा निकासी गरी अवैध रुपमा सुन भित्र्याउने कामहरु गर्दै आइरहन्थे ।
२०५६ सालको संसदमा तत्कालिन नेकपा एकीकृतका सांसद परि थापाको नेतृत्वमा गठित छानबिन समितिले प्रतिवेदन नै तयार गरी संसदमा पेश गरेको थियो । त्यतिबेल मल्होत्राले विदेशी मुद्रा निकासी गरी अवैध रुपमा सुन भित्र्याउने गरेको प्रतिवेदनमा उल्लेख थियो ।
मुख्यतः तीन जनामाथि विशेष अनुसन्धान भइरहेको छ । जुन सुन उनीहरुले तस्करी गरेको आशंका छ । व्यापारी दीपक मल्होत्रा, राकेश अडुकिया र अर्का एक व्यापारीमाथि अनुसन्धान केन्द्रीत रहेको विभाग स्रोत बताउँछ ।
जतिबेला मल्होत्रासहित, अनिल जाटिया, प्रकाश वेगानी, शंकर गोल्यान, आइएल प्रधान, टेकबहादुर गुरुङ, जमिम शाह, ताहिर शाह, प्रकाश टिवडेवाला, धोजेन्द्र गौचन, विष्णु जोशी, छविलाल भुसाल, अशोक सुरेखा, हरि न्यौपाने र दीपक स्वाँर पनि अवैध कारोबारी रहेको प्रतिवेदनमा उल्लेख थियो ।
यसरी उनी पटक पटक विवादमा आएका व्यक्ति हुन् ।
त्यस्तै राकेश अडुकिया विवादित व्यापारीको रुपमा चिनिन्छन् । अहिले बरामद सुन उनले नै तस्करी गरेको हुनसक्ने केही प्रमाणहरु भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । हाल उनी फरार छन् । अर्का व्यापारीमाथि सोधपुछ भइरहेको स्रोत बताउँछ ।
सुन गालेपछि यकिन परिमाण थाहा हुने
मोटरसाइसकलको ब्रेक सुमा रहेको भनिएको सुन करिब करिब १ सय किलो रहेको अनुमान गरिएको छ । यद्यपि अहिलेसम्म सुनको यकिन परिमाण भने आइसकेको छैन ।
ब्रेक सुमा रहेको भनिएको सुन गालेर निकाल्नुपर्ने भएकाले बरामद गरिएको सुनसहितको उक्त सामान राष्ट्र बैंकमा राखिएको छ । बैंकले उक्त बरामद सुन गाल्ने तयारी गरिरहेको छ ।
यो प्रकरणमा रेडि ट्रेडका नाममा सुनसहितको सामान आयात भएकाले उक्त कम्पनीको मालिक भनिएका दोलखाका दीलिप भुजेल, चिनियाँ नागरिक जिक्वान लिन, एक भारतीय नागरिक, भन्सारका कर्मचारीहरुसहित १७ जना पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्तिहरुका घर तथा गोदामहरुमा छापा मारी अन्य सामानहरु पनि बरामद गरिएको छ ।
