देउजा राधाकृष्ण
आरोप/प्रत्यारोप र आशंका गर्नेहरुले जे भनिरहेको भएपनि आजसम्म स्थापित तथ्यहरुले भन्छ कि आजको मितिसम्मको काम हेर्दा गृहमन्त्रीको रुपमा नारायणकाजी श्रेष्ठ इतिहासकै सफल र निष्कलंक र राम्रो काम गर्ने हुटहुटि भएको गृहमन्त्रीहरुकै सूचीमा हुनुहुन्छ ।
गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्ने बित्तिकै सुराकी खर्च खारेजी गर्नेदेखि सकारात्मकता सुरुवात गरेर अनेकन काण्डहरुको निष्पक्ष छानविनको सुनिश्चिताको निम्ति सक्रियता मात्रै नभएर सुरक्षा निकायहरुको वृत्ति विकासलाई हस्तक्षेपरहित बनाउन पनि उहाँले भूमिका खेलेको देखिएको छ ।
त्यसैले गर्दा नै हो प्रहरीलगायत सुरक्षा निकायका बढुवाहरुमा रिक्त संख्यात्मक बाध्यताको कारण कतिपय राम्राहरु छुट्नुको कारण अभिव्यक्त स्वाभाविक र सामान्य असन्तुष्टिहरुको अलावा कोहि कसैले तर्कपूर्ण र तथ्यपूर्ण रुपमा लेनदेन दवाव प्रभावको आरोपको चर्चा समेत गर्न सकेनन् ।
एकाध सच्चा काबिल बाहेक अरु शाब्दिक काविल तर व्यवाहारले अनैतिक र भ्रष्टहरुलाई म किन बढुवा भइन भनेर थाहा छ ।
हो भएको पद्दति र प्रक्रियाको विधिवत सुधार बाँकी नै रहेकोले विगतको भ्रष्ट, अनैतिक र पक्षपाति राजनीतिक प्रशासनिक र प्रहरी नेतृत्वको निर्विवेकी नम्बरहरुले गर्दा अगाडी आउनुपर्ने राम्राहरु पछाडी परे ।

अनि बढुवामा पर्नुपर्ने काबिलहरु कतिपय छुटे । तर यति हुँदै गर्दा पनि सकेको राम्रो गर्न खोजिएको तथ्य स्वतः स्थापित भएको छ ।
तसर्थ माननीय गृहमन्त्रीज्यू तपाईंले विश्वास गरेर जिम्मा दिएका अधिकारीहरु धन्यवादका पात्र छन् । वहाँहरुले राम्रो गर्नु हुन्छ भन्ने विश्वास सबैमा जागेको छ । तर विगतमा देखिएको कतिपय गलत परम्परा र पद्दतिको पुनारावृति हुने हो कि भन्ने आशंका चाहिँ छँदैछ । अव त्यस चिन्तालाई पनि दुर गर्नु पर्नेछ ।
त्यसको लागि माननीय गृहमन्त्रीज्यूले सर्वप्रथम प्रहरीलगायत सुरक्षा संगठनमा दरवन्दी रिक्त भएपछि तत्काल रिक्त दरबन्दीमा तत्काल विद्यमान उमेदवारहरु मध्येबाट उत्कृष्ट छनोट गर्दै बढुवा गरिने नीतिलाई शाव्दिक रुपमा स्मरण गराउँदै व्यवहारिक रुपमा लागु गरिने प्रतिवद्धता व्यक्त गरिनुपर्छ ।
किन ? किनभने विगतमा धेरै पटक रिक्त दरबन्दी थोरै र प्रतिष्पर्धी धेरै हुँदाका बखतमा बढुवा भएर खुसी हुने थोरै छुट्दा रिसाउने धेरै हुने डरले अलिक धेरै पद रिक्त नहुन्जेल बढुवा नै नगर्ने काम हुने गरेको छ । अव यस्तो हुनुहुँदैन ।
दरवन्दी रिक्त हुने बित्तिकै प्रतिष्पर्धीहरु मध्येको उत्कृष्ट र उपयुक्त जो जो छन् उनीहरुको बढुवा हुन्छ भनेर त्यसो गर्न सुरु गर्ने बित्तिकै आम प्रहरी संगठनमा व्यापक उत्साह पैदा भएर प्रहरीको मनोवल उच्च हुनेछ ।
माननीय गृहमन्त्रीज्यू धेरै राम्रो गर्नुभएको छ अब यति काम पनि गरिदिनुस् धेरै काम आफसे आफ राम्रो हुनेछ ।
