काठमाडौं । नेपाल प्रहरीमा जनपथतर्फ ८ वटा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी छ । टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेक बहादुर तामाङ एआईजी छन् ।
उनीहरु दुई टोलीमा एआईजी भएका हुन् । जसमध्ये राई, ज्ञवाली, बज्राचार्य, भण्डारी र चौधरी हालका प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरका ब्याचमेट हुन् भने थापा, गिरी र तामाङ पछिल्लो ब्याजका हुन् । कुँवरपछि तीनजना मध्ये एकजना आईजी बन्नेछन् ।
एआईजी विशिष्ट श्रेणी अर्थात नीतिगत पद हो । संगठनमा सबै एआईजीको आ आफ्नै भूमिका छ । उनीहरुले प्रहरी सेवादेखि अहिलेसम्म संगठनमा रहँदा के के गरे ? कस्ता छन् ? र कुन विभागको नेतृत्व लिइरहेका छन् ? भनेर सोही कुरा जानकारी दिन खोजेका छौं ।
संगठनमा हालकै ३० वर्षे सेवाअवधि कायम रहेको अवस्थामा कुँवर ४ चैत २०८१ सम्म आईजीमा बहाल हुनेछन् । यद्यपी ३० वर्षे हटेमा उनको कार्यकाल लम्बिनेछ ।
राई, ज्ञवाली, बज्राचार्य, भण्डारी र चौधरी २०५१ चैत ५ गते भर्ना भएका टोली आईजी कुँवरका ब्याची हुन् भने थापा, गिरी र तामाङ २०५२ भदौमा नियुक्ति पाएका पछिल्ला टोली अर्थात वैकल्पिक हुन् ।
सर्वप्रथम आईजी कुँवरका ब्याचीहरुलाई समेटौं ।
१. टेक प्रसाद राई
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख रहेका राई नेपाल प्रहरी संगठनमा गुमनाम अफिसरको रुपमा चिनिन्छन् । आफ्नो काममा बढी रुचाउने स्वभावका राई बढी बोल्दैनन् ।
आजभोलि प्रहरीमा आफूले गरेका काम सकेसम्म प्रचार गरेर सेलिब्रेटी बन्ने प्रवृत्ति हाबी छ । तर, एआईजी राई गुमनाम काम गर्नुपर्ने युनिट (विशेष ब्यूरो)मा लामो समय बसेर पनि होला धेरै प्रचारप्रसारमा रमाउन चाहँदैनन् ।
३० वर्षे प्रहरी सेवा अवधिको दुई तिहाई अर्थात् २० वर्षभन्दा बढी राईले बिनाबर्दी काम गरेको अनुभव समेत छ । लामो समय बिना बर्दी काम गरेका राईले प्रहरी उपरीक्षक (एसपी) हुँदा भने बाँके जिल्लाको इन्चार्ज भएर काम गरेका थिए ।
बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएपछि जिल्ला प्रहरी परिसर ललितपुर तथा मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोमा रहेर उनले काम गरेका छन् । प्रहरी नायब महानिरीक्षक (डिआईजी) हुँदा केन्द्रीय प्रवक्तासमेत भएर काम गरेका उनले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको रुपमा पनि काम गरेका छन् ।
तुलनात्मक रुपमा उनी शक्तिकेन्द्र कम धाउने प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको पहिचान बनाएका राई आईजीको रेसमा समेत थिए । प्रहरीमा आईजी बन्न चर्कै रस्साकस्सी हुन्छ । आकांक्षीहरु एकअर्काबीच पानी बाराबारको व्यवहार गर्छन् ।
तर, राई भने त्यो समय लुम्बिनी प्रदेशको राजधानी दाङमा आफ्नै काममा रमाइरहे । हालका आईजी कुँवरपछि वरीयतामा दोस्रो रहेका राईले कुनै प्रतिस्पर्धा नै गरेनन् । संगठनको हितमै रहेर सरकारले दिएको जिम्मेवारी निर्वाह गर्ने अधिकृतमा पर्छन् उनी ।
उनी आईजी कुँवरसँगै अवकाशमा जानेछन् ।
२. श्यामलाल ज्ञवाली
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी प्रमुख रहेका एआईजी ज्ञवाली संगठनमा खरो स्वभावका अधिकृत हुन् । निडर र साहसिक क्षमताका ज्ञवाली जहाँ कार्यरत रहँदा पनि संगठनको लागि काम गर्ने अधिकृतको रुपमा चिनिन्छन् ।
सक्षम प्रहरी अधिकारीको रुपमा चिनिएका ज्ञवालीले थुप्रै इप्रका, वृत्त, जिल्लाको कमाण्ड गरेको अनुभव छ । ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन तथा नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने क्षमता ज्ञवालीसँग रहेको छ ।
ज्ञवाली कमाण्ड कन्ट्रोलमा राम्रो मानिन्छन् । एसएसपी हुँदा जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौं प्रमुखको रुपमासमेत ज्ञवालीले काम गरेका थिए । डिआईजी भएपछि कोशी प्रदेश प्रहरी प्रमुख हुनुभन्दा अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालको प्रमुखको रुपमा ज्ञवालीले काम गरेका थिए ।
उनीसँग काम गरेका प्रहरी अधिकृतहरु पनि ज्ञवालीलाई सरल र सहयोगी व्यक्तिका रुपमा चिनेको बताउँछन् । ज्ञवाली आईजीको प्रतिस्पर्धी समेत हुन् । आईजी बन्न थुप्रै दौडधुप गरेका ज्ञवाली पूर्वआईजी ठाकुर ज्ञवालीको सहोदर भाई हुन् । तर, अन्तिममा कुँवरलाई सरकारले आईजी नियुक्त गर्यो ।
३. किरण बज्राचार्य
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को निर्देशक रहेकी बज्राचार्य समेत आईजीको प्रतिस्पर्धीमा थिइन् । खरो र मिजासिलो स्वभावकी बज्राचार्य पहिलो महिला आईजीको रुपमा आफूलाई देखाउन चाहेकी थिइन् । तर, सफल हुन सकिनन् ।
संगठनले दिएको जिम्मेवारी राम्रोसँग पूरा गर्ने गरेकी बज्राचार्यले समेत थुप्रै जिल्ला, वृत्त र इलाकाको कमाण्ड सम्हालेको अनुभव छ । बागमति प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा उनले धेरै प्रहरी अधिकृतहरुको हकहितको लागि काम गरेकी थिइन् ।
आफ्नो काममा दत्तचित्त भएर लाग्ने तर कतै प्रचारमा नदेखिएकै कारण उनको शालिनता प्रष्ट हुन्छ । प्रचारप्रचारमा समेत धेरै नरमाउने बज्राचार्य सिआईबीको निर्देशक भएपछि प्रहरीको छवि उच्च भएको छ ।
एसएसपी हुँदा जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुख भएर काम गरेकी बज्राचार्यले डिआईजी हुँदा बागमति प्रदेश तथा प्रबन्ध महाशाखाको जिम्मेवारी सम्हालेकी थिइन् । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुर लगायत ठाउँमा बसेर काम गरेको अनुभव बज्राचार्यको छ ।
४. सन्दीप भण्डारी
प्रहरी सेवामा प्रवेश गर्दा अगाडि रहेका भण्डारी संगठनमा राम्रै अधिकृत मानिन्छन् । काममा भन्दा बढी प्रचारप्रसारमा रमाउने स्वभाव भएपनि शक्तिकेन्द्रसँग नजिक भएर काम गर्न बढी इच्छुक हुने भण्डारी संगठनप्रति लोयल नै छन् ।
एसएसपीसम्म भण्डारी आफैंले आफूलाई आईजीको प्रतिस्पर्धी भन्दै हिँड्ने गरेका थिए । तर, एसएसपीबाट डिआईजी बढुवामा अन्तिममा परेपछि उनको मिसन त्यहि समाप्त भएको थियो ।
हक्की स्वभावका भण्डारीले पछिल्लो समय मानवस्रोत विकास विभागको नेतृत्व सम्हालेका छन् । संगठनमा आफूलाई बरिष्ठ मान्ने भण्डारी जहाँ बसेपनि विवादमा आइरहने अधिकृतको रुपमा चिनिन्छन् । उनले पनि थुप्रै जिल्ला, इलाका र वृत्तको नेतृत्व गरेका छन् ।
५. मीरा चौधरी
जहाँ बसेपनि दवगंको छवि बनाएकी एआईजी चौधरी सफलतामा सधैं अगाडि नै छिन् । संगठनको लािग भनेपछि जस्तोसुकै कदम पनि चाल्न खोज्ने चौधरीले अहिले कार्य विभागको नेतृत्व सम्हालेकी छिन् ।
इमान्दार र हक्की स्वभावकी एआईजी चौधरीले एसपी हुँदा अति संवेदनशील जिल्लाहरुको समेत नेतृत्व सम्हालिन् । जहाँबाट नै उनको परिचय फेरिएको थियो । महिला भएर पनि यस्तो काम गर्ने आँट जो कोहीमा आउँदैन भन्दै उनको नाम उदाहरणमा लिइन्थ्यो ।
त्यसैले एआईजी चौधरीले थुप्रै इलाका, वृत्त, जिल्लाहरुरको नेतृत्व सम्हालेको अनुभव छ । उनीसँग काम गरेका अधिकृतहरुका अनुसार चौधरी काममा मात्रै नभएर संगठनका तल्लो तहका कर्मचारीहरुको लागि पनि निकै सहयोग गर्ने गर्छिन् ।
अफिस समय सुरु भएपछि कहाँ कहाँ के भएको छ ? भनेर साँझसम्म आफू मातहतका प्रहरीहरूबाट रिपोर्टिङसमेत मागिरहने चौधरीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्वसमेत सफल ढंगबाट निर्वाह गरेर आफूलाई अब्बल साबित गरिन् ।
पर्दापछाडिको हिरो जस्तै चौधरी काममा पनि अब्बल छिन् ।
६. दीपक थापा
प्रशासन विभागको प्रमुख रहेका एआईजी थापा संगठनमा राम्रो अधिकृतको रुपमा चिनिन्छन् । संगठन सुधारको लागि एआईजी थापासँग धेरै अधिकृतले सल्लाह, सुझावसमेत लिने गरेको पाइएको छ । त्यसैले उनलाई भावी आईजीको रुपमा समेत हेरिन्छ ।
संगठनमा इमान्दार, मिजासिला र निडर स्वभावका थापा आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्ने अधिकृतको रुपमा चिनिन्छन् । कुशल व्यवस्थापकीय क्षमता भएका थापालाई सबै नेतृत्वहरुको रोजाईमा समेत पर्ने गरेका छन् ।
थापाले डीएसपी हुँदा प्रहरी वृत्त महाराजगन्ज र खोटाङको कमान्ड गरे । चितवनको एसपी हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड सँग दीपक थापाको सम्बन्ध निकट भएको जानकारहरू बताउँछन् । उनको अन्य पार्टीका नेताहरुसँग पनि राम्रै सम्बन्ध छ ।
एसएसपी भएपछि उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरे । अपराध अनुसन्धान कार्यालयमा रहँदा उनले उपत्यकाको अपराध अनुसन्धानमा उल्लेख्य सफलता हासिल गरे । त्यस्तै डिआईजीमा बागमती प्रदेश प्रहरी प्रमुखको रुपमा काम गरेका थापाले प्रबन्ध महाशाखाको प्रमुख भएर पनि काम गरेको अनुभव छ ।
७. सुदीप गिरी
प्रदेश समन्वय विभागको जिम्मेवारीमा रहेका एआईजी गिरी अब्बल प्रहरी अकिधृत हुन् । संगठनमा राम्रो छवि बनाएका गिरीको समेत शक्तिकेन्द्रहरुसँग राम्रै सम्बन्ध रहेको जानकारहरु बताउँछन् । नेपाली कांग्रेस निकट रहेका गिरीसमेत पछिल्लो समय आईजीका दाबेदार हुन् ।
प्रहरी संगठनभित्र गिरीलाई योजना बनाउन सक्ने, अनुभवी तथा जस्तासुकै परिस्थितिसँग नआत्तिने, बौद्धिक र परिपक्व अधिकृतका रूपमा लिने गरिन्छ । प्रहरीभित्र अप्रेसन, सहकार्य र कमान्डको नेतृत्वमा दक्ष मानिने गिरीले एसएसपीमा काठमाडौं प्रहरी प्रमुखको नेतृत्व सम्हालेका थिए ।
डिआईजीमा कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका गिरी इन्स्पेक्टर हुँदा वडा, इलाका डिएसपीमा वृत्त, र एसपी हुँदा विभिन्न जिल्लाको कमाण्ड सम्हालेको समेत अनुभव छ । उनीसँग राजधानीभन्दा बढी बाहिरी जिल्लाको नेतृत्व गरेको अनुभव रहेको बताइन्छ ।
८. टेक बहादुर तामाङ
अपराध अनुसन्धान विभागको प्रमुख रहेका तामाङ लो प्रोफाइलमा बसेर काम गर्न रुचाउने अधिकृतमा पर्छन् । व्यवसायिक एवं काबिल प्रहरी अफिसरको ट्याग पाएका उनी कर्म मात्रामा मिडियामा आउँछन् ।
नजिकबाट चिन्नेहरुका अनुसार उनी पनि संगठनको फाइदाको लागि निरन्तर लागिपर्ने अधिकृत हुन् । उनले पनि आफ्नो २९ वर्षे सेवाको अवधीमा विभिन्न इलाका, वृत्त र जिल्लाहरुको सफल कमाण्ड गरेको अनुभव छ ।
तामाङ पनि भावी आईजीको दौडमा छन् । शक्तिकेन्द्रसामू राम्रै पहुँच रहेका उनी संगठनभित्र गुमनाम जस्तै छन् । धेरैलाई उनलाई चिनेका समेत छैनन् ।
००००
पछिल्लो ब्याचका यी तीनजना मध्ये एकजनाले हालका आईजीपछि प्रहरी नेतृत्वको कमाण्ड सम्हाल्नेछन् । तीनजनामा थापा पहिलो, गिरी दोस्रो र तामाङ तेस्रो बरियतामा छन् । त्यसैले सरकारले जसलाई उपयुक्त लाग्छ, उसैलाई आईजी बनाउन सक्छ ।
थापा त आफ्नो व्याच का मात्र होइन, आफूभन्दा अघिल्लो व्याचलाई समेत उछिनेर एसएसपी, डिआईजी बढुवा भएका हुन् । एसएसपी बढुवामा गिरी हालका आईजी कुँवरभन्दा अगाढि बढुवा भएका थिए भने डिआईजीमा कुँवरले बाजी मारेका थिए ।
त्यस्तै गिरी समेत एसएसपी बढुवामा अन्तिममा रहेपनि डिआईजी बढुवामा फड्को मारेर अगाडि आएका हुन् । कमाण्ड क्षमतामा अब्बल भएपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई अगाडि ल्याएको हो ।
त्यस्तै तामाङ एसएसपी बढुवा र डिआईजी बढुवामा उस्तैउस्तै बरियतामा थिए । संगठनमा इमान्दार प्रहरी अधिकृतको पहिचान बनाएका तामाङलाई वर्तमान सरकारले सहयोग गर्ने बुझिएको छ । उनको समेत सबै पार्टीका शीर्ष नेताहरुसँग राम्रै सम्बन्ध रहेको बुझिन्छ ।
त्यसैले आईजीको लागि सुरुमा थापा एक्लै थिए । तर, उनको मिसन असफल भएपछि अब आईजीको रेसमा ३ जना हुने भएका छन् । सरकारले ज्येष्ठता, इमान्दार, कार्यसम्पादन हेरेर निर्णय गर्ने भएकाले यसलाई नै आईजी बनाउला भनेर भन्न सकिने अवस्था छैन ।
