काठमाडौ । नेपालमा पछिल्लो समय क्विन्टलका क्विन्टल सुन तस्करी हुन थालेको खुलेको छ । बुधवार राति १०० केजी सुन ‘ब्रेक सु’ मा लुकाएर ल्याइएकोमा बरामद भएपछि तस्करीको जालोबारे खुल्न थालेको हो ।
हङकङबाट आएको सुन राजधानीको एक फमका नाममा थियो । सुन तस्करीमा चिनियाँ नागरिक मुख्य नाइके रहेको विश्वस्त स्रोतले बताएको छ । संगठित गिरोहले उक्त सुन तस्करी गरेको बताइएको छ ।
सुन तस्करीमा विभिन्न पार्टीका उच्च तहका नेता, कर्मचारी र प्रहरीसमेतको मिलेमतो हुनसक्ने अनुमान गरिएको छ । घटना खुले ठूलै पहिरो जाने भएकाले अनुसन्धानलाई माथिसम्म पुग्न नदिने चलखेल हुन थालेको स्रोत बताउँछ ।
हङकङबाट तस्करले सुन ल्याए पनि यसमा को को संलग्न छन् र सुन कस्ले मगाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।
सुन नेपालको एक फमबाट मगाइएको र त्यो अनुसन्धानका क्रममा भएकाले खुलाउन नमिल्ने बताए । सुन तस्करीमा विदेशीको समेत संलग्नताबारे सोध्दा उनले भने, यो विस्तारै खुल्दै जानेछ ।
यसअघि भेपमा सुन लुकाएर ल्याइएको प्रकरण तस्करहरुले सुन चोरेपछि खुलेको थियो । यो प्रकरणमा पाँच जना पक्राउ गरी कारागार चलान गरिएका छन् । सुन चीनबाट ल्याएर भारतीय व्यापारीलाई बेचेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
नेपालमा पछिल्लो समय सुन तस्करीमा चिनियाँ नागरिकहरुको संलग्नता बढेको छ । उनीहरुले हङकङ र चीनका विभिन्न स्थानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतसम्म पु¥याउने गरेका छन् ।
गत वर्षको पुसमा पत्ता लागेको भेपमा सुन लुकाएर ल्याउने गिरोहको नाइके पनि चिनियाँ नागरिक लुई वाङ दाओजिङले भन्सारका कर्मचारीसँगको मिलेमतोमा सुन तस्करी गर्दै आएका थिए । उनको सम्बन्ध शक्तिशाली नेताहरुसँग पनि रहेको खुलेको छ ।
सुन तस्करीका नाइके चिनियाँ नागरिक दाओजिङको कनेक्शन नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग रहेको खुलेपछि तरंग आएको छ । महराका छोरा राहुल महरा यो घटनामा जाँचबुझमा परेका छन् । उनीहरुलाई जोगाउन माओवादीको ठूलै शक्ति लागेको छ ।
बुधवार राति राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै सर्वाधिक सुन बरामद गर्दा पनि चिनियाँ नागरिक गिरोहका नाइके भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
