काठमाडौ । निर्माता भुवन केसीले १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै हालेको गाली बेइज्जती मुद्दा जितेपछि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले भावुक हुँदै प्रतिक्रिया दिएकी छन् ।
हाल चलचित्र विकास बोर्डका अध्यक्ष रहेका केसीले साम्राज्ञीविरुद्द मुद्दा हालेका थिए । तर मुद्दा जितेपछि सत्यको जित भएको र आफू पहिलाजस्तै ढुक्कले सामान्य जीवनमा फर्किन पाएको उनले बताइन् ।
आफ्नो पक्षमा बहस गरिदिएका कानुन व्यवसायीलाई धन्यवाद दिँदै उनले भनिन्, ‘हामीले अन्ततः यो लडाइँ जितेका छौँ । अब म शान्तिको सास फेर्न सक्छु र जीवनमा फेरि अघि बढ्न सक्छु ।’
साम्राज्ञीको पक्षमा कानुन व्यवसायीहरू दिनेश त्रिपाठी, अशांकन मल्ल, राष्ट्र तिमल्सिना, धृष्टि दाहाल र जयलाल भण्डारीले बहस गरेका थिए । आफ्ना लागि बहस गरिदिने, समर्थन गर्नेहरूलाई धन्यवाद दिँदा साम्राज्ञी भक्कानिइन् ।
९ साउन २०७७ मा केसीले दायर गरेको मुद्दामाथि हिजो सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश वासुदेव पौडेलको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको छ ।
यसबारे सामाजिक सञ्जालमार्फत भिडियो शेयर गर्दै साम्राज्ञीले तीन वर्षपछि आफूले न्याय पाएको बताइन् । ‘ममाथि १० करोडको मुद्दा हाल्ने व्यक्तिले मलाई आफू शक्तिशाली, पहुँचवाला र चलचित्र क्षेत्रबाट पूर्ण समर्थन रहेको भन्दै फेरि पनि बुलिङ गरेको थियो’, साम्राज्ञीले भनिन् ।
