काठमाडौं । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तरक्रिया गरेको छ ।
महावाणिज्य दूतावास, हङकङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा व्यावसायिक वातावरण सुरक्षित बन्दै गएकाले लगानी गर्न आग्रह गरे ।
विशेषगरी नवीकरणीय ऊर्जा र निर्माण क्षेत्रमा सहज लगानीको अवसर रहेको उनले बताए ।
नेपालमा लगानी गर्दा भविष्यको सुनिश्चितताको जिम्मा लगानी बोर्डले लिने भन्दै कार्यकारी अधिकृत भट्टले नेपालमा लगानी गर्दाको फाइदाबारे जानकारी दिए ।
नयाँ लगानीकर्तालाई कम्पनी दर्तालगायतका कानुनी प्रक्रिया सहज बनेको भन्दै उनले कुनै पनि कानुनी अड्चन नहुने प्रतिबद्धता जाहेर गरे ।
