काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । सरकारले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा देशभरको मूल्यमा लिटरको ५ रूपैयाँदेखि साढे सात रूपैयाँसम्म घटाएको छ ।
निगमका अनुसार यी तीन पेट्रोलियम पदार्थको भाउ पहिलो वर्गअन्तर्गत साढे सात रूपैयाँ, दोस्रो वर्गअन्तर्गत ६ रूपैयाँ र तेस्रो वर्गअन्तर्गत ५ रूपैयाँ प्रतिलिटर कम गरिएको हो ।
अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ ।
त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १४९ रूपैयाँ पर्नेछ ।
यस्तै विराटनगर, जनकपुर, वीरगञ्जसहित तराईका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४७.५ रुपैयाँ पर्नेछ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगम सञ्चालक समितिले नयाँ भाउ तोकेको हो ।
