काठमाडौं । लामो समयदेखि बन्न नसकेको त्रिशुली-बुटार पुलको लागि ठेक्का आह्वान भएको छ । यसअघि ठेक्का आह्वान भएर पनि उक्त पुल निर्माण गर्न ठेकेदार बेपत्ता भएपछि पुनः आह्वान गरिएको हो ।
गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंको अग्रसरमा त्रिशुली-बुटार पुल निर्माणको लागि ठेक्का आह्वान भएको हो । यसअघि पनि उक्त पुन निर्माणको लागि ठेक्का आह्वान हुँदै स्थगित भएको थियो ।
तर, बजगाईंले आफ्नो निर्वाचन क्षेत्रसमेत रहेकाले त्रिशुली-बुटार पुल निर्माणको लागि ठेक्का आह्वान हुँदा आफू खुसी भएको बताए । बुटार सांसद बजगाईंको क्षेत्र हो । जुन ठाउँबाट बजगाईंले गत चुनावमा राम्रो मत पाएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद बजगाईले भनेका छन्, ‘लामो समयदेखि स्थगनमा रहेको त्रिशूली-बुटार पुल ठेक्का आह्वान भएको छ । हर्ष साँटिएको अनुरोध छ । जय गोरखा । काम र हल्लामा फरक छुट्याउनु हुन विनम्र अनुरोध छ ।’
गोरखा र चितवन जोड्ने उक्त पुल नबन्दा धेरैले सास्ती खेप्नुपरेको छ । त्यहाँका स्थानीय दैनिक डोकोमा तरकारी बोकेर झोलुङ्गे पुलहुँदै आउने जाने गर्छन । त्यसैले पनि उक्त ठाउँमा पक्की पुन निर्माणको आवश्यकता थियो ।
यसअघि चितवनको इच्छाकामना गाउँपालिका चुमखोला र गोरखाको गण्डकी गाउँपालिका,१ बुटार जोड्ने गरी त्रिशुली नदीमाथि पप्पु कन्स्ट्रक्शनले पुल निर्माणको जिम्मा लिएको थियो, २०७१ असार २९ गते ।
तर, काम नगरेपछि उक्त कन्स्ट्रक्शनलाई कालोसूचीमा राख्न सिफारिस भयो । कालोसूचीमा परेपनि पुन निर्माणले गति पाएन । त्यसै रोकियो । हाल पप्पुका मालिक हरिनारायाण चौधरी भ्रष्टाचार मुद्दामा समातिएका छन् ।

