काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक आज पनि १३ मिनेट चलेर स्थगित भएको छ । सभामुखले बैठकको प्रारम्भ गरेलगत्तै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बिरोध जनाएका थिए ।
सभामुख तुलाराम घर्तीले आफ्नो कुरा राख्न भनेपछि एमालेका प्रदेश प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेश निर्देशनालयहरुको खारेजी र बजेटमा भएको मनोमानी सच्याउन माग गरेका थिए ।
त्यसपछि एमालेका सांसदहरु बसेको स्थानमै उठेर बिरोध जनाए । सभामुखले पटक पटक बस्न भनेपनि एमाले सांसदहरुले उठेर बिरोध जनाइरहेपछि सभामुखले १ घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
आर्थिक वर्ष ०८०/०८१ को बजेटमाथिको छलफल गर्न असार १३ गतेको बोलाएको बैठक आधा घन्टा चलेर स्थगित भएको थियो भने असार १७ गतेको बैठक ५ मिनेटमै अवरुद्ध भएको थियो ।
प्रतिपक्षी दल नेकपा एमालेको संसद अवरोधका कारण लुम्बिनी प्रदेशमा आर्थिक वर्ष ०८०/०८१ को बजेटमाथिको छलफल हुन पाएको छैन ।
लुम्बिनीमा प्रदेश सरकारले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको छ ।
