भरतपुर । नारायणगढ–मुग्लिन सडक पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।
पहिरो हटाउन सुरु गरिएको छ । अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल तामाङले जानकारी दिए ।
पहिरोले एउटा ट्रक पल्टिएको छ । पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो । ट्रकका चालक सामान्य घाइते भएका छन् । अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको इन्स्पेक्टर तामाङले जानकारी दिए ।
उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ । आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो । यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।
