काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न ५ दिनको समय दिएका हुन् ।
अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।
प्रदेश प्रमुखको कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) वा (३) मध्ये कुन अनुसार मुख्यमन्त्री नियुक्त गरी सरकार गठन गर्न राजनीतिक दलहरुलाई दाबी पेसका लागि आहृवान गर्ने विषयमा महान्यायाधिवक्तासँग प्रदेश प्रमुखले माग गरेको राय आइतबार प्राप्त भएपछि उपधारा २ अनुसार असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको उल्लेख छ ।

