काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ ।
कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए ।
नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदर दलहरुबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका बेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि सारेको हो ।
‘मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि स्वभाविक रुपमा गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । त्यसैले पहिलो पटक कांग्रेस नेतृत्वको सरकार बन्छ । त्यसको नेतृत्व कांग्रेस कोशी प्रदेश सभापति एवं दलका नेता उद्धव थापाले गर्नुहुनेछ,’ उपसभापति रायमाझीले बैठकको निर्णय सुनाउँदै भने ।
सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टंक राई, महामन्त्रीहरु भूपेन्द्र राई र टंक थापा, सहमहामन्त्रीहरू विनोदकुमार बस्नेत, खड्ग फागो र प्रमिला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए ।
कांग्रेसले कोशीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरूले आ–आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ
