
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरव्याजी प्रकरणमा ठूला नेता र उच्च प्रहरी अधिकारीहरुको संलग्नता रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले मिटरब्याजी प्रकरणमा संलग्न व्यक्तिहरुको संरक्षक दलका ठूला नेता र उच्च प्रहरी अधिकारीहरु रहेको दाबी गरे ।
प्रमुख सचेतक गिरीले भने, ‘मिटरव्याजीको प्रकरण धेरै गम्भीर विषय हो । यसमा राष्ट्रसेवक, उच्च पदस्थ कर्मचारी संलग्न छन् । राजनीतिक दलका ठूला नेताहरूको संरक्षणमा यी काम भएका छन् । प्रहरीका उच्च अधिकारीहरू संलग्न छन् ।’
त्यसकारण मिटरव्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने गिरीले बताए । उनले थपे, ‘सामन्तवादको अवशेषको रूपमा अहिले पनि यो समस्या छ । त्यसकारण यसका विरुद्धमा राम्रो नीति, ऐन बन्नुपर्छ ।’
पीडितहरूलाई न्याय दिन र पीडकहरूलाई कारबाही गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउँदै गिरीले सरकार पीडितलाई न्याय दिन नभई झुक्याउन विधेयक सदनमा पेश गरेजस्तो गरेको टिप्पणी गरे ।