काठमाडौं । रुकुम पश्चिममा निजी सवारीसाधनको संख्या बढ्दै गएको र ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँच बढेसँगै सवारी दुर्घटना हुने क्रम पनि सोही अनुसार बढिरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
रुकुम पश्चिममा पछिल्ला तीन वर्षमा सवारी दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७/०७८, गत आर्थिक वर्ष २०७८/०७९ र चालु आर्थिक २०७९/०८० मा विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ६ वटा सवारी दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाउनुपरेको थियो भने गत आ.व. २०७८/०७९ मा १२ वटा सवारी दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो । त्यस्तै चालु आ.व. २०७९/०८० मा ८ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवं सूचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा २८ पुरुष, ३ महिला र १ बालबालिका रहेका छन् ।
त्यस्तै सोही अवधीमा सवारी दुर्घटनामा ६९ जना घाइते भएका इन्स्पेक्टर खड्काले बताए । घाइते हुनेहरुमा ५८ पुरुष, ८ महिला र ३ बालबालिका रहेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा ६ वटा सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो भने गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाभर १२ वटा सवारी दुर्घटना भएकामा १२ जनाको मृत्यु भएको थियो ।
त्यस्तै चालु आर्थिक वर्षको हालसम्म ८ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । ७ पुरुष, ३ महिला र १ बालबालिका गरी ११ जनाको मृत्यु भएको खड्काले बताए ।
जिल्लामा पछिल्लो समय निजी सवारीसाधनको संख्या वृद्धि हुनु, ग्रामीण क्षेत्रमा सडक सञ्जालको व्यापक विस्तार हुनु र आमसर्वसाधारणमा ट्राफिक नियमसम्बन्धी चेतना भएर पनि हेलचेक्य्राइँ गर्दा सवारी दुर्घटना बढेको खड्काले बताए ।
मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरबाहीका कारण पनि बढी दुर्घटना हुने गरेको पाइएको इन्स्पेक्टर खड्का बताउँछन् ।
