रौतहट । मधेस प्रदेशमा उत्कृष्ट हुने एक जना ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सँगै तीन जना प्रहरी नगद पुरस्कारसहित कदरपत्रबाट सम्मानित भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख इन्स्पेक्टर विमला कुमारी कठायत, प्रदेश ट्राफिक प्रमुख कार्यालय पथलैयामा कार्यरत असई दीपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत सहायक हवलदार राजकुमार कलवार सम्मानित भएका हुन् ।
ढल्केवरस्थित शनिबार एक समारोहबीच नाडाका अध्यक्ष डाक्टर ध्रुव थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेस प्रदेश ट्राफिक प्रमुख एसपी सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगदसहित कदर पत्रबाट उनीहरूलाई सम्मानित गरिएको थियो ।
इन्स्पेक्टर कठायतलगायत तीनै जनाले ट्राफिक सेवामा रही पुर्याएको विशेष योगदानको उच्च मुल्याङ्कनसहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख एसपी सन्तोष कुमार भट्टराईले उक्त पुरस्कारको लागि नाम सिफारिस गरेका थिए ।
मधेस प्रदेशले प्रत्येक वर्ष ट्राफिक प्रहरीमा उत्कृष्ट हुने ३ जनालाई सम्मानित गर्दै आएको ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । कार्यक्रममा मधेस प्रदेशका व्यापारी तथा प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।
