काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमाले चौतर्फी घेराबन्दीमा रहेको बताएका छन् । एमाले नेतृत्वको सरकारको पालामा चुच्चे नक्साको मुद्दा उठाए वापत् अहिले एमाले घेराबन्दीमा परेको पोखरेलले बताए ।
आइतबार धादिङ जिल्लाको प्रथम जिल्ला परिषद्को उद्घाटन गर्दै पोखरेलले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी गरिएको बताए । उनले अहिले एमालेलाई घेराबन्दी गरेपनि २०८४ को निर्वाचनपछि भने एमाले पहिलो शक्ति बन्ने उनको दाबी छ ।
एमाले देशको पहिलो शक्ति बन्दा मात्र देशको रक्षा हुने उनले बताए । पोखरेलले प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए ।
उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए ।
‘हामीले भनेका छौँ, यो चुच्चे नक्सा बनाउनुको अर्थ के हो भने, हाम्रो जमिन खोसियो, अतिक्रमण भयो, छिमेकीले हेप्यो। अब छिमेकीले अतिक्रमण गरेका भूमि फिर्ता लिनुपर्छ भनेर एमालेले भन्यो,’ पोखरेलले भने ।
