काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसद्ले बनाएको कानुनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको आरोप लगाएका छन् ।
६५ औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगानाले संसद्ले बनाएको कानुनबाट प्रशासन नचलेको बताएका हुन् ।
उनले भने, ‘कानुन किन बनाउनुपर्ने जनप्रतिनिधिले सार्वभौम जनप्रतिनिधिले भने त्यो भन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानुन, नियमावली, आदेश केही पनि संसद्ले बनाएको विधेयक भन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर ।
तर अहिले म सुन्दैछु, संसद्ले एउटा कानुन बनाउँछ तर अरू अरूकै आदेशबाट प्रशासन चलिरहेको छ । त्यो हेर्ने को हो ? तपाईँहरू संसद्ले हेर्ने होइन । ल हाम्रा पार्टीलाई त सत्तामै फुर्सद भएन । हुनेलाई कसरी मेरो सत्ता बचाऊँ, नहुनेलाई सत्तामा जान हतारो । त्यो मात्रै छ ।
हाम्रो देशको राजनीतिमा अब त प्रदेशमा पनि सरिसक्यो । हामीले बनाएको कानुनलाई छल्ने गरी प्रशासनले जुन जुन आदेश गरेको छ, त्यो संसद्को अपमान हो । त्यो हेर्ने को ?
हेरिरहनुभएको छ तपाईँहरूले । त्यो हेर्नुपर्छ । संसद्को कामै छैन, त्यो हेरिँदैन भने । संसद्को इच्छा बेगरको कुरा कुनै ऐन, कानुनबाट हुँदैन । त्यही भएर संसद्ले नै कानुन बनाउनुपरेको हो । यहाँ प्रशासनले जे पनि गरिरहेको छ ।’
