काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पहिचानका नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अन्य नेताहरूमाथि ढुङ्गा प्रहार गरेर कोशी प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै नेम्वाङले आदिवासी जनजातिका अधिकारका लागि महत्वपूर्ण पहलकदमी लिने नेकपा एमाले र यसका नेताहरूमाथि ‘पहिचानको ढुङ्गा’ वर्षाइएकामा आश्चर्य प्रकट गरे ।
‘हामी कुनै पनि विषयमा असहमति हुँदा शान्तिपूर्ण विरोध गरिनुपर्छ भन्नेमा विश्वास गर्छौं, उपाध्यक्ष नेम्वाङले प्रश्न गर्दै भने, ‘कार्यकर्ता भेट्न जाँदा नेकपा एमालेका अध्यक्षमाथि ढुङ्गा प्रहार गरेर नाम परिवर्तन होला त ? के यो नाम परिवर्तन गर्नकै लागि हो ?’
प्रदेशको नामाकरण अधिकार संविधान लेख्दा नै प्रदेश सभालाई दिइएको हुँदा कोशीलगायत सबै प्रदेशको नामाकरण प्रदेश सभाले विधि र प्रक्रिया अनुसार दुईतिहाई बहुमतबाट पारित गरी राखिएको स्पष्ट गर्दै नेम्वाङले असन्तुष्ट समूहले जनताको मन जितेर प्रदेश सभामा दुईतिहाई पुर्याई नाम परिवर्तन गर्नसक्ने व्यवस्था पनि संविधानमै भएको उल्लेख गरे ।
उपाध्यक्ष नेम्वाङले पहिचानका नाममा कोशी प्रदेशमा भइरहेका हिंसात्मक गतिविधिमा विगतमा एम्बुस थाप्नेहरूकै संलग्नता रहेको छ भन्ने आफूले सुनिरहेको बताए ।
