काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेकपा एमालेसँग मिलेर नेपाली कांग्रेसले संयुक्त सरकार बनाउने कुरा हल्ला मात्र रहेको प्रष्ट्याएका छ्न् ।
शनिबार डडेल्धुरामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बजारमा आएको हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका हुन्।
‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनैपनि सम्भावना रहेको छैन’ उनले भने ।
उनले प्रतिपक्ष दलका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयन्त गरेको बताए । उनले पहिलोपटक भारतसँग कुटनैतिक रुपमा कालापानी तथा लिम्पियाधुरा क्षेत्रको समस्याका बारेमा कुरा अगाडि बढाइएको समेत प्रष्ट पारे ।
केही समयअघि भएको प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो समस्या समाधानबारे सकारात्मक जवाफ दिएको उनले बताए ।
‘भारतका प्रधानमन्त्रीले पहिलोपटक सीमा लगायतका मुद्दाहरु वार्तामार्फत समाधान गरिनेछ भनेर भन्नुभएको छ’ मन्त्री साउदले भने, ‘भारतले नेपालको भूभाग डुबान हुनेगरि महाकाली नदिमा निर्माण गरिरहेको संरचनाका बारेमा पनि हामीले जानकारी गराएका छौं।’
