काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुरकार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा परेको छ ।
कार्कीले आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उनले आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न तथा नयाँ नियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशको माग गरेका छन् ।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशको विषयमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो । साथै, मन्त्रिपरिषद्को निर्णयसम्बन्धी कागजातसमेत झिकाउन आदेश दिएको थियो ।
यसअघि मंसिर ७ गतेका लागि तोकिएको सुनुवाइ म्याद तामेलीसम्बन्धी प्रक्रिया पूरा नभएपछि सरेको थियो ।

