काठमाडौं । घातक रोगको बीमा सुविधा बेच्ने तर रोग लागेपछि दाबी भुक्तानी दिन आनाकानी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नियामक निकाय र अदालतकै निर्णय कार्यान्वयन नगरेको पाइएको छ।
स्याङ्जाका इन्द्रबहादुर रिजाललाई घातक रोगबापत १५ लाख रुपैयाँ भुक्तानी गर्न नेपाल बीमा प्राधिकरणले गरेको निर्णयलाई उच्च अदालत पाटनले समेत सदर गरिसकेको छ। तर, वर्षौं बितिसक्दा पनि उनले बीमाको रकम पाउन सकेका छैनन्।
अझ रोचक त के छ भने, नेपाल लाइफले सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको विषयलाई आधार बनाएर विवाद विचाराधीन रहेको भन्दै विज्ञप्ति जारी गरेको छ।
तर, रिजालका अनुसार सर्वोच्चबाट मुद्दा दोहोर्याएर हेर्ने अनुमति (निस्सा) नै प्राप्त भएको छैन। यसले सर्वोच्चमा निवेदन दर्ता हुनु र मुद्दा सुनुवाइका लागि स्वीकृत हुनुबीचको फरकलाई कम्पनीले कसरी व्याख्या गरिरहेको छ भन्ने प्रश्नसमेत उठाएको छ।
रिजालले २०७२ असार २२ गते नेपाल लाइफमा १५ लाख रुपैयाँको जीवन बीमा गरेका थिए। २०७७ असार ३० गते पोलिसीमा घातक रोगसम्बन्धी अतिरिक्त सुविधा पनि थपेका थिए।
बीमा कायम रहेकै अवस्थामा २०७८ पुस ३० गते उनलाई हृदयघात भयो। शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएर कोरोनरी एन्जियोप्लास्टीसहित उपचार गराउनुपरेको थियो।
उपचारपछि घातक रोगबापतको बीमा दाबी गर्दा नेपाल लाइफले पहिले नै मुटुसम्बन्धी समस्या रहेको र औषधि सेवन गरिरहेको भन्दै भुक्तानी अस्वीकार गर्यो। त्यसपछि न्यायका लागि प्राधिकरण पुगेका रिजालको पक्षमा नियामक निकायले २०८१ पुस ४ गते निर्णय गर्दै १५ लाख रुपैयाँ भुक्तानी गर्न कम्पनीलाई निर्देशन दियो।
प्राधिकरणको निर्णयविरुद्ध नेपाल लाइफ उच्च अदालत पाटन पुग्यो। तर, २०८२ चैत १० गते न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुकुमार खतिवडाको संयुक्त इजलासले प्राधिकरणको निर्णय सदर गर्दै कम्पनीको पुनरावेदन खारेज गरिदियो। यससँगै बीमित रिजालले घातक रोगबापतको रकम पाउनुपर्ने निर्णय अदालतबाट समेत कायम भयो।
तर, अदालतको फैसला आएको महिनौँ बितिसक्दा पनि रिजालले रकम पाएका छैनन्। ‘दुई तहबाट मेरो पक्षमा निर्णय भइसकेको छ। तर, अहिलेसम्म पैसा पाएको छैन,’ रिजालको गुनासो छ।
यता कम्पनीले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा मुद्दा दोहोर्याएर हेराइपाऊँ भन्ने निवेदन दिएको दाबी गरेको छ। तर, रिजालले सर्वोच्चबाट निस्सा प्राप्त नभएको दाबी गरेका छन्। सर्वोच्चमा निवेदन दर्ता हुँदैमा त्यसले मुद्दा पुनः सुनुवाइका लागि स्वीकृत भएको अर्थ नलाग्ने भएकाले कम्पनीको विज्ञप्ति र वास्तविक न्यायिक अवस्थाबीच स्पष्टता आवश्यक देखिएको छ।
यस प्रकरणमा अब नेपाल बीमा प्राधिकरणको भूमिकासमेत महत्त्वपूर्ण बनेको छ। नियामक निकाय आफैँले निर्णय गरेको र त्यसलाई उच्च अदालतले समेत सदर गरेको अवस्थामा बीमितले रकम नपाउनुको कारण के हो? कम्पनीले सर्वोच्चमा निवेदन दिएको आधारमा मात्रै भुक्तानी प्रक्रिया रोक्न मिल्ने हो कि होइन? यसबारे प्राधिकरणले स्पष्ट पार्नुपर्ने देखिन्छ।
बीमा क्षेत्रको नियामक निकायको नेतृत्वमा राजनविक्रम थापा नियुक्त भएका छन्। बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणमा लामो अनुभव बोकेर आएका थापासामु अब बीमितको अधिकार संरक्षण र कम्पनीहरूको जवाफदेहिताको प्रश्न पनि चुनौती बनेर आएको छ।
आफ्नै निर्णय कार्यान्वयन नभएको यो प्रकरणमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले नेपाल लाइफमाथि कस्तो कदम चाल्छन्? नियामकको निर्णय र अदालतको फैसलापछि पनि भुक्तानी नपाएका रिजालले न्याय पाउँछन् कि पाउँदैनन्?
यो प्रकरणले प्राधिकरणको नियामकीय क्षमता र बीमा क्षेत्रप्रतिको सर्वसाधारणको विश्वाससमेत परीक्षण गर्नेछ।
१२२ खर्बको दाबीदेखि १५ लाखको भुक्तानीसम्म, नेपाल लाइफका सीईओ पराजुली विवादै विवादमा
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् प्रविण रमण पराजुली। उनी अहिले मात्र होइन विगतमा पनि पटक पटक विवादमा तानिएका व्यक्ति हुन्।
१२२ खर्ब रुपैयाँ बीमितलाई भुक्तानी गरेको दाबी गरेर विवादमा तानिएका पराजुलीमाथि रिजालको १५ लाख भुक्तानी विषयमा झनै गम्भीर प्रश्न खडा भएको छ।
कम्पनीले २५ वर्षमा बीमितलाई १२२ खर्ब रुपैयाँ भुक्तानी गरेको उनको सार्वजनिक अभिव्यक्तिपछि तथ्याङ्कमाथि प्रश्न उठेको थियो। यस विषयमा नेपाल बीमा प्राधिकरणले समेत पराजुलीसँग स्पष्टीकरण मागेको थियो। विवाद चर्किएपछि कम्पनीले उक्त भिडियो सामाजिक सञ्जालबाट हटाएको थियो।
कम्पनीको तथ्याङ्क र सार्वजनिक अभिव्यक्तिमाथि उठेको प्रश्न सेलाउन नपाउँदै नेपाल लाइफभित्र अभिकर्तासँगको विवाद पनि सार्वजनिक भयो। कम्पनीका केही अभिकर्ताले बोनस दर र बीमा पोलिसी बिक्रीका क्रममा दिइएका आश्वासनमाथि प्रश्न उठाएका थिए।
कम्पनीको कार्यक्रममै अभिकर्ताहरूबीच विवाद र हातपातको अवस्था सिर्जना भएको विषय सार्वजनिक भएपछि नेपाल लाइफको आन्तरिक व्यवस्थापन र अभिकर्तासँगको सम्बन्धबारे समेत बहस सुरु भएको थियो।
अर्कोतर्फ, कम्पनीले बीमा अभिकर्तामाथि कारबाहीको चेतावनी दिँदै आएको विषयले पनि विवादलाई थप चर्चामा ल्याएको छ।
अब नवनियुक्त बीमा प्राधिकरणका अध्यक्ष थापाले यस्ता विषयमा कस्तो नियामकीय कदम चाल्छन् भन्ने चासो बढेको छ।

