काठमाडौं । सशस्त्र प्रहरी बलमा नेतृत्व परिवर्तन भइरहन्छ। नेतृत्वको सचिवालय फेरिन्छ र संगठनका महत्त्वपूर्ण जिम्मेवारीमा नयाँ अधिकृतहरू पुग्छन्। तर संगठनको मुख्यालयस्थित सचिवालयमा वर्षौंदेखि आफ्नो प्रभाव कायम राख्न सफल एकजना डीएसपी भने चर्चामा छन्। ती हुन् डीएसपी शैलेन्द्र थापा।
सशस्त्र प्रहरी बलका पूर्वआइजीपी शैलेन्द्र खनालको कार्यकालदेखि नै मुख्यालयको सचिवालयमा कार्यरत थापा हालका आइजीपी नारायणदत्त पौडेलको कार्यकालमा पनि उत्तिकै प्रभावशाली भूमिकामा रहेको संगठनभित्र चर्चा हुने गरेको छ।
थापाले सचिवालयमा काम गर्नुका साथै सहप्रवक्ताको जिम्मेवारीसमेत पाएका थिए। आइजीपी पौडेलले उनलाई विभिन्न खटनपटन तथा जिम्मेवारीमा समेत परिचालन गर्दै आएको बताइन्छ।
संगठनमा नेतृत्व परिवर्तनसँगै कर्मचारीको जिम्मेवारी र कार्यक्षेत्र फेरिनु सामान्य प्रशासनिक अभ्यास हो। तर, एउटै अधिकृतले लगातार ८ वर्षसम्म नेतृत्वको सचिवालयमा रहेर प्रभाव कायम राख्नुले भने संगठनभित्र प्रश्न उठाएको छ।
नेतृत्व परिवर्तन हुँदा पनि आफ्नो स्थान सुरक्षित राख्न सक्ने उनको क्षमताबारे संगठनभित्र विभिन्न चर्चा हुने गरेको छ। हरेक नेतृत्वसँग निकट रहेर काम गर्ने र विश्वास जित्ने उनको शैलीलाई कतिपयले प्रशासनिक दक्षताका रूपमा लिने गरेका छन् भने कतिपयले यसलाई संगठनभित्रको प्रभावशाली पहुँचका रूपमा व्याख्या गर्ने गरेका छन्।
सरुवामा छुटे, १० दिनपछि भन्सारमा पुगे
पछिल्लो पटक असार २० गते सशस्त्र प्रहरी बलका ७१ जना डीएसपीको सरुवा भएको थियो। उक्त सरुवा सूचीमा थापाको नाम थिएन। तर, त्यसको करिब १० दिनपछि उनलाई इलामस्थित पशुपतिनगर भन्सार कार्यालयमा पठाइयो।
पशुपतिनगर भन्सारलाई डीएसपीका लागि आकर्षक कार्यक्षेत्रका रूपमा हेरिने गरिन्छ। सचिवालयमा लामो समय काम गरेका थापालाई उक्त कार्यालयमा पठाइनुको कारणबारे पनि संगठनभित्र प्रश्न उठेको छ।
उनी अहिले पशुपतिनगरमै कार्यरत रहे पनि आइजीपी पौडेलले उनलाई सहप्रवक्ताको जिम्मेवारीसमेत दिएको बताइएको छ। यसले उनको जिम्मेवारी र भूमिकाबारे थप प्रश्न सिर्जना गरेको छ।
आफ्नै संगठनका कर्मचारीविरुद्ध इमेल, जिल्लाका हाकिममाथि दबाबको आरोप
थापाको विवाद सचिवालयमा लामो समय बसेको र सरुवामा प्राप्त जिम्मेवारीमा मात्रै सीमित छैन। उनले आफ्नै संगठनका कर्मचारीविरुद्ध विभिन्न निकायमा इमेलमार्फत उजुरी गर्ने गरेको आरोपसमेत लागेको छ।
बहालवाला एक सशस्त्र प्रहरी कर्मचारीले थापाले आफैँविरुद्ध समेत इमेल पठाएर उजुरी गरेको दाबी गरेका छन्। ती कर्मचारीका अनुसार थापाले इमेलमार्फत संगठनभित्रका कर्मचारीलाई निशाना बनाउने गरेका छन्।
त्यतिमात्र होइन, जिल्लामा कार्यरत सशस्त्र प्रहरीका प्रमुख तथा अन्य अधिकारीलाई इमेलमार्फत उजुरीको दबाब सिर्जना गर्ने र त्यसैलाई माध्यम बनाएर आर्थिक लाभ लिने गरेको आरोपसमेत उनीमाथि लागेको छ।
स्रोतका अनुसार जिल्लाका हाकिमहरूसँग पैसा उठाउने उद्देश्यले इमेलमार्फत उजुरी गर्ने गरेको आरोप संगठनभित्र उठ्ने गरेको छ।
यदि यस्ता आरोपमा सत्यता छ भने यो कुनै एक अधिकृतको व्यक्तिगत आचरणको विषय मात्र नभई संगठनको आन्तरिक अनुशासन, उजुरी प्रणाली र नेतृत्वको जवाफदेहितासँग जोडिने गम्भीर विषय हो।
आफ्नै संगठनका कर्मचारीमाथि उजुरी गर्ने अधिकार सबैलाई हुन्छ। तर, उजुरी प्रणालीलाई व्यक्तिगत स्वार्थ वा आर्थिक लाभको माध्यम बनाइएको हो भने त्यसको निष्पक्ष छानबिन हुन आवश्यक छ।
८ वर्षसम्म नेतृत्वको सचिवालयमा बसेका थापाको भूमिका, उनको सरुवा, सहप्रवक्ताको दोहोरो जिम्मेवारी र कर्मचारीमाथि इमेलमार्फत उजुरी गर्ने विषयमा सशस्त्र प्रहरी बलको नेतृत्वले स्पष्ट पार्नुपर्ने देखिन्छ।

