काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले पूर्वआईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटसम्बन्धी सर्वोच्च अदालतको म्याद आफैँले बुझेका छन्।
यसअघि प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको भन्दै अदालतमा प्रतिवेदन पुगेपछि सोमबार पुनः म्याद जारी भएको थियो।
सर्वोच्च अदालतको आदेशअनुसार जारी भएको म्याद आईजीपी केसीले सोमबार नै बुझेका हुन्। म्याद बुझेको भर्पाईसमेत सर्वोच्च अदालतमा पठाइसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसअघि मंसिर ४ गते सर्वोच्च अदालतले आईजीपी केसीका नाममा म्याद जारी गर्दै मंसिर ७ गते अन्तरिम आदेशसम्बन्धी छलफलमा उपस्थित हुन भनेको थियो।
तर, म्याद तामेल गर्न प्रहरी प्रधान कार्यालय पुगेका अदालतका तामेलदारले सम्बन्धित व्यक्ति कार्यालयमा उपस्थित नभएको र कार्यालयले समेत म्याद बुझ्न अस्वीकार गरेको भन्दै प्रतिवेदन दिएका थिए।
तामेलदारको प्रतिवेदनअनुसार प्रहरी प्रधान कार्यालय पुग्दा कर्मचारीले आईजीपी केसी प्रधानमन्त्रीको बैठकमा गएको र फर्किने भन्दै कार्यालय समयसम्म पर्खाएका थिए। तर, कार्यालय समय सकिँदासम्म पनि केसी उपस्थित नभएको र म्याद बुझ्न नसकिएको प्रतिवेदन सर्वोच्चमा पेस भएको थियो।
सोही विषयलाई लिएर सर्वोच्च अदालतमा भएको सुनुवाइका क्रममा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित कानुन व्यवसायीले प्राविधिक कारणले म्याद बुझ्न नसकिएको जिकिर गरेका थिए।
सोमबारको इजलासमा त्यही विषयमा केहीबेर सवालजवाफसमेत भएको थियो। त्यसपछि पुनः म्याद जारी भएमा नबुझाउने अवस्था नरहने प्रतिबद्धता कानुन व्यवसायीले जनाएका थिए।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पुनः म्याद जारी गर्न आदेश दिँदै मंसिर ९ गते बुधबारका लागि अर्को पेसी तोकेको थियो। उक्त सुनुवाइमा प्राथमिकता दिएर पालोसमेत आउने गरी महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी गराउन पनि आदेश भएको थियो।
आईजीपी केसीले म्याद बुझेपछि अब पूर्वआईजीपी कार्कीले माग गरेअनुसार अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा सर्वोच्चमा सुनुवाइ हुने बाटो खुलेको छ।
गत कात्तिक १८ गते मन्त्रिपरिषद्ले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेपछि उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेका थिए।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्की, नवनियुक्त आईजीपी डा. केसी र सरकारलाई अन्तरिम आदेशसम्बन्धी छलफलका लागि बोलाएको थियो।
अब मंसिर ९ गते हुने सुनुवाइले कार्कीलाई पुनः प्रहरी महानिरीक्षकमा फर्काउने वा नफर्काउने विषयमा अन्तरिम आदेशको बाटो तय गर्नेछ।

