काठमाडौं । यती एयरलाइन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज बिष्ट नियुक्त भएका छन्। एयरलाइन्सले व्यवस्थापन प्रशिक्षार्थीका रूपमा सेवा सुरु गरेका बिष्टलाई कम्पनीको सर्वोच्च कार्यकारी जिम्मेवारी दिएको हो।
बिष्टले सन् २००९ मा व्यवस्थापन प्रशिक्षार्थीका रूपमा यती एयरलाइन्सबाटै आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए। करिब १७ वर्षको अवधिमा कम्पनीका विभिन्न विभाग र व्यवस्थापकीय जिम्मेवारीमा काम गर्दै उनी नेतृत्व तहमा पुगेका हुन्।
व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका बिष्ट यसअघि कम्पनीको प्रमुख व्यावसायिक अधिकृत (सीबीओ) तथा जवाफदेही व्यवस्थापकका रूपमा कार्यरत थिए। उनले एयरलाइन्सको व्यावसायिक रणनीति निर्माण, सञ्चालन व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा काम गर्दै आएका थिए।
कम्पनीकै व्यवस्थापन प्रशिक्षार्थीबाट यात्रा सुरु गरेका बिष्टले अब सीईओका रूपमा एयरलाइन्सको समग्र सञ्चालन, व्यावसायिक रणनीति र भावी विकास योजनाको नेतृत्व गर्नेछन्।
आन्तरिक रूपमा विभिन्न जिम्मेवारी सम्हाल्दै नेतृत्व तहमा पुगेका बिष्टको नियुक्तिलाई कम्पनीभित्रैबाट नेतृत्व विकास भएको उदाहरणका रूपमा समेत हेरिएको छ।

