काठमाडौं । नेपालबाट चीन भ्रमण गर्नेहरूको चहलपहल बढेको छ। राजनीतिक नेतृत्वदेखि युवासम्मका विभिन्न समूह चीन पुग्ने क्रम बढिरहेका बेला मंगलबार थप २० जना नेपाली युवा चीन प्रस्थान गरेका छन्।
दिउँसो १२ः३० बजे चाइना साउदर्न एयरलाइन्सको उडानमार्फत उनीहरू चीन गएका हुन्। उनीहरू चिनियाँ दूतावाससँग सम्बन्धित ‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम’ (CNYP) अन्तर्गत चीन भ्रमणमा गएका हुन्।
चिनियाँ दूतावासले नेपाली युवाको नेतृत्व क्षमता विकास, सामाजिक सहभागिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसमा विभिन्न क्षेत्रका युवा व्यावसायिक व्यक्ति, सामाजिक अभियन्ता, उद्यमी तथा राजनीतिक र सांस्कृतिक क्षेत्रमा सक्रिय व्यक्तिहरू सहभागी हुन सक्छन्।
कार्यक्रम एक वर्षको अवधिका लागि सञ्चालन हुने व्यवस्था छ। यस अवधिमा सहभागीहरूले नेतृत्व विकाससम्बन्धी तालिम, कार्यशाला, सामाजिक गतिविधि तथा विभिन्न अन्तरक्रियामा सहभागी हुने अवसर पाउँछन्।
उत्कृष्ट सहभागीलाई चीन भ्रमण गराएर त्यहाँको विकास अभ्यास, सामाजिक तथा आर्थिक संरचना र आधुनिकीकरणका अनुभव बुझ्ने अवसरसमेत दिइन्छ।
चिनियाँ दूतावासले सन् २०२६ का लागि सञ्चालन गरेको कार्यक्रमको उद्देश्य नेपालमा सामाजिक तथा आर्थिक विकासमा योगदान दिन सक्ने युवाको सञ्जाल निर्माण गर्नु पनि हो। सहभागीलाई नेपाल–चीन सम्बन्धका सांस्कृतिक आदानप्रदान र सहकार्यका वाहकका रूपमा विकास गर्ने कार्यक्रमको लक्ष्य रहेको दूतावासले जनाएको छ।
युवाहरूको यो भ्रमण भइरहँदा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय सांसद टोली पनि चीन भ्रमणमा छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा गएको टोलीले चीनका विभिन्न सहरको भ्रमण गरिरहेको छ।
उक्त टोलीले चीनको विकास मोडल, सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, प्रविधि, औद्योगिक क्षेत्र र विपद् व्यवस्थापनका विषयमा अध्ययन तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ। टोलीले सिचुवान, झेजियाङ र बेइजिङलगायतका क्षेत्रको भ्रमण गर्ने कार्यतालिका छ। टोली नोभेम्बर २६ मा नेपाल फर्कने कार्यक्रम छ।
चीन भ्रमणमा रहेका सांसदहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले पनि नेपालले लाभ लिन सक्ने विषयमा केन्द्रित हुन निर्देशन दिएका थिए। भ्रमणलाई केवल घुमफिरमा सीमित नराखी व्यापार, लगानी, प्रविधि, पर्यटन र कृषि क्षेत्रमा सहकार्यका सम्भावना खोज्न उनले आग्रह गरेका थिए।
यसअघि पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारी पनि चीनको ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन अक्टोबर २३ देखि २५ सम्म चीन पुगेकी थिइन्।
यसरी पछिल्लो समय नेपालका राजनीतिक नेता, सांसद र युवाहरूको चीन भ्रमणले नेपाल–चीन सम्बन्धका विभिन्न आयाममा चासो बढाएको छ।
राजनीतिक तथा कूटनीतिक तहको भ्रमणसँगै युवा पुस्तालाई लक्षित आदानप्रदान कार्यक्रममार्फत पनि चीनले नेपालसँगको सम्बन्ध विस्तारमा जोड दिइरहेको देखिन्छ।

