काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्रीको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै सुशासनको नाममा कुनै पनि सरकारलाई “काला कर्तुत” गर्ने छुट नभएको बताएका छन्।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा बोल्दै थापाले भने, “प्रधानमन्त्रीलाई कालो चस्मा लगाउन, कालो वस्त्र लगाउन छुट छ, तर काला कर्तुत गर्न छुट छैन। यो विषय हामीले संसद्मा पनि उठाइरहेका छौँ।”
थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो स्वतन्त्र संवैधानिक निकायलाई सरकारले आफ्नो प्रभावमा पार्न खोजेको आरोप लगाउँदै सरकारसँग स्पष्ट जवाफ मागे। “अख्तियार संविधानप्रति उत्तरदायी हुने हो, सरकारको दबाबमा चल्ने होइन,” उनले भने।
प्रधानमन्त्रीले अख्तियारका कर्मचारीलाई धम्क्याएको भन्ने सञ्चार माध्यममा आएका समाचारप्रति पनि उनले सरकारको धारणा मागे। “यदि ती समाचार गलत हुन् भने सम्बन्धित सञ्चारमाध्यमलाई कारबाही गरियोस्, होइन भने सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ,” थापाले चुनौती दिए।
आफूमाथि पार्टीभित्रै भएको आलोचनाप्रति व्यङ्ग्य गर्दै उनले “बीपी स्मृति दिवसको नाममा गगन थापा निन्दा प्रतियोगिता चलिरहेको रहेछ” भन्दै त्यसलाई बेवास्ता गरेको बताए।
थापाले नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल नभई राष्ट्रिय शक्ति भएको दाबी गर्दै पार्टीलाई प्रविधिमैत्री, आधुनिक सोच र नयाँ पुस्ताको आकांक्षा अनुसार अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले पुराना नेताको सम्मान गर्दै नयाँ पुस्तालाई अवसर दिएर कांग्रेसलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए।
