गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसीको मृत्यु भएको छ। कार्यालयको सिनियर अधिकृत निवास (क्वार्टर) मा मंगलबार बिहान अचेत अवस्थामा भेटिएका उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मंगलबार बिहान साढे ९ बजेसम्म पनि नउठेपछि उनलाई खोज्न निवासमा पुगेका प्रहरी कर्मचारीले अचेत अवस्थामा फेला पारेका थिए। क्वार्टरको ढोकामा भित्रबाट चुकुल लगाइएको र लामो समयसम्म नखुलेपछि प्रहरी झ्यालबाट भित्र प्रवेश गरी उनलाई बाहिर निकालेको थियो।
लगत्तै अस्पताल पुर्याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमकिरण बोगटीका अनुसार उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए। उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।
उनको मृत्युको कारण भने खुलिसकेको छैन। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको कारणबारे थप जानकारी हुने प्रहरीले जनाएको छ।

