काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई खल्तीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रेग्मी नबिल बैंकमा आबद्ध भएका छन्।
नबिल बैंकले रेग्मीलाई चिफ बिजनेस अफिसर (सीबीओ) नियुक्त गरेको हो। उनले बैंकको ट्रान्जेक्सन बैंकिङ तथा डिजिटल बैंकिङ सेवा ‘एनबैंक’ को नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्।
बैंकको व्यवस्थापनसम्बन्धी सार्वजनिक विवरणअनुसार रेग्मीले नयाँ जिम्मेवारी सम्हालिसकेका छन्। उनको कार्यक्षेत्रमा ट्रान्जेक्सन बैंकिङ, एनबैंक, फिनटेक तथा अन्तरदेशीय साझेदारीसम्बन्धी काम रहनेछ।
रेग्मी यसअघि आईएमई खल्ती लिमिटेडको सीईओका रूपमा कार्यरत थिए। सन् २०२५ नोभेम्बरमा उनी आईएमई खल्तीको सीईओ नियुक्त भएका थिए। त्यसअघि उनले आईएमई डिजिटल सोलुसन्स (आईएमई पे) को सीईओको जिम्मेवारी सम्हालेका थिए।
बैंकिङ, फिनटेक तथा डिजिटल भुक्तानी क्षेत्रमा करिब १८ वर्षको अनुभव हासिल गरेका रेग्मीले यसअघि एनआईसी एसिया बैंक र एनएमबी बैंकमा समेत विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।
बैंकिङ क्षेत्रको अनुभव र डिजिटल भुक्तानी क्षेत्रमा हासिल गरेको नेतृत्वदायी भूमिकाका कारण रेग्मीको नबिल बैंक प्रवेशलाई बैंकको डिजिटल तथा ट्रान्जेक्सन बैंकिङ व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण नियुक्तिका रूपमा हेरिएको छ।

