काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा बुधबार (मंसिर २) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
सरकारको निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तिहार बिदाका कारण सुनुवाइ प्रक्रिया प्रभावित भएपछि सुरुमा कात्तिक ३० गतेका लागि पेसी तोकिएको थियो। तर, छठ पर्वको बिदा थपिएपछि सुनुवाइ बुधबारका लागि सरेको कार्कीका कानुन व्यवसायीले बताएका छन्।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट मुक्त गर्दै एआईजी मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने सरकारको निर्णय छ।
सरकारको उक्त निर्णयविरुद्ध कार्कीले आफूलाई कुनै पूर्वसूचना नदिई र स्पष्टीकरणको मौका समेत नदिई पदबाट हटाइएको जिकिर गरेका छन्।
रिटमा केसीलाई आईजीपी नियुक्त गर्ने, दर्ज्यानी चिह्न प्रदान गर्नेलगायत सरकारका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ।
आफूलाई जिम्मेवारीमुक्त गर्दा कार्यसम्पादन, आचरण, क्षमता वा योग्यतासम्बन्धी कुनै आरोप वा आधारसमेत प्रस्तुत नगरिएको कार्कीको जिकिर छ।

