काठमाडौं । काठमाडौं उपत्यकामा कम्पनीले निर्धारण गरेको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष अभियानका क्रममा नियमविपरीत साइलेन्सरलगायतका संरचना परिवर्तन गरी ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। कारबाहीका क्रममा मोटरसाइकललाई कम्पनीले तोकेको मूल स्वरूपमा फर्काउन लगाइने र आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित धनीलाई फिर्ता दिइनेछ।
मोटरसाइकलको स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्दा ध्वनि प्रदूषण हुनुका साथै सर्वसाधारणको स्वास्थ्य र दैनिक जनजीवनमा समेत असर पर्ने भएकाले यस्तो कार्य नगर्न प्रहरीले आग्रह गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेको निर्देशनमा सञ्चालन भइरहेको अभियानलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारीधनी तथा चालकलाई कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार नै सवारीसाधन सञ्चालन गर्न र गैरकानुनी रूपमा स्वरूप परिवर्तन नगर्न अनुरोध गरेका छन्।



