काठमाडौं । नेपाली सेनाका उपरथी अनुपजंग थापाको रथीमा बढुवाका लागि नाम रक्षा मन्त्रालय पुगेको छ । सैनिक बढुवा बोर्डले गरेको सिफारिसअनुसार उनको नाम रक्षा मन्त्रालय पठाइएको हो ।
थापाको बढुवा प्रस्ताव आगामी साता बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने र मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै उनी रथीमा बढुवा हुनेछन् ।
यसैगरी, नेपाली सेनाका अर्का उपरथी मधुकर कार्की पनि रथीमा बढुवा हुने भएका छन् । रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बढुवा बोर्ड बैठकले कार्कीलाई रथीमा बढुवाका लागि सिफारिस गरेको हो । उनको बढुवाका लागि सातदिने सूचना समेत प्रकाशित गरिएको छ ।
रथीमा बढुवा भएपछि दुवै जना नेपाली सेनाको उच्च नेतृत्व तहमा पुग्नेछन् । रथी नेपाली सेनामा प्रधानसेनापतिपछिको उच्च सैनिक दर्जा हो ।
प्रधानसेनापति अशोकराज सिग्देलले आगामी भदौ २४ गते अवकाश पाएपछि थापा प्रधानसेनापति बन्ने वरिष्ठता र कार्यकालको समीकरणमा छन् ।
रथीमा बढुवासँगै उनको भावी सैनिक नेतृत्वको बाटो थप स्पष्ट हुने देखिएको छ ।

