दाङ । दाङको घोराहीमा प्रहरीले जुवातासविरुद्धको अपरेसन चलाउँदै कांग्रेस नेता तथा जिल्ला सभापतिका आकांक्षी भुपबहादुर डाँगी र वडा अध्यक्ष तारा डाँगीसहित १७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार घोराहीमा चर्चित मानिने व्यक्तिहरू जुवाखालमा संलग्न रहेको सूचनापछि प्रहरीले अपरेसन चलाएको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठ बिदामा रहेका बेला प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीको नेतृत्वमा टोली परिचालन भएको थियो ।
शनिबार साँझ प्रहरीले घोराही–१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा छापा मारेको थियो । जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले खानतलासी गर्दा ४ लाख ८ हजार १ सय २० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको थियो । उक्त स्थानबाट ९ जना पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा घोराही–१४ का नवलसिंह डाँगी, घोराही–१३ का निमबहादुर भण्डारी, माडी गाउँपालिका–३ का तुलबहादुर खड्का र रामकृष्ण खड्का, घोराही–१८ का बसन्त बुढाथोकी, घोराही–१४ का यदुनाथ पाण्डे, घोराही–१० का हिमराज केसी, घोराही–१४ का निमेश भण्डारी र नयाँबजारका ४१ वर्षीय चन्द्रदेव बुढा छन् ।
त्यसैगरी, प्रहरीले घोराही–१५ स्थित भुपबहादुर डाँगीको घरमा पनि छापा मारेको थियो । पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले त्यहाँबाट थप ८ जनालाई पक्राउ गरेको हो । उक्त स्थानबाट १ लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा घोराही–१५ का केशरबहादुर पछाई, भुपबहादुर डाँगी, लुमासिंह बस्नेत, निमबहादुर पुन र गिरीराज केसी छन् । त्यस्तै, घोराही–१४ का ओबिन्द्र महरा, घोराही–१६ का तारा डाँगी र रोल्पाको रुन्टीगढी गाउँपालिका–५ का हिरालाल रावत पनि पक्राउ परेका छन् ।
पक्राउ परेका भुपबहादुर डाँगी नेपाली कांग्रेसको जिल्ला सभापति बन्ने दौडमा रहेका नेता हुन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको प्रमुख पदमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । त्यसैगरी, २०७९ सालको स्थानीय तह निर्वाचनमा उपप्रमुख पदमा उम्मेदवारी दिए पनि दुवै निर्वाचनमा उनी पराजित भएका थिए ।
डाँगीको घरमा यसअघि पनि प्रहरीले जुवातास खेलिरहेको सूचनाका आधारमा छापा मारेको थियो । उक्त घटनापछि तत्कालीन प्रमुख जिल्ला अधिकारीको सरुवासमेत भएको थियो । सो घटनाको पृष्ठभूमिले यसपटकको प्रहरी अपरेसनलाई थप चासोका साथ हेरिएको छ ।
प्रहरीले दुवै स्थानबाट कुल ५ लाख १२ हजार ७ सय रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरेको छ । पक्राउ परेका सबै १७ जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

