काठमाडौं । सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएको छ । संवेदनशील सूचना चुहाएको आरोपमा एआईजी वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेसँगै उक्त पद रिक्त भएको हो ।
दाहाललाई सरकारले गत १९ असोजमा निलम्बन गरेको हो । उनीमाथि छानबिन गर्न गृहले एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा एक सदस्यीय समिति गठन गरेको थियो । समितिले बयानसहितको छानबिन प्रतिवेदन बुझाएपछि सरकारले २५ असोजमा दाहाललाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोप लागेका दाहालको जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटासँग समेत सम्बन्ध रहेको दाबी गरिएको छ ।
दाहाल बर्खास्तीमा परेसँगै रिक्त भएको एआईजी पदका लागि सशस्त्र प्रहरीका तीन डीआईजी मुख्य प्रतिस्पर्धामा देखिएका छन् । वरीयताका आधारमा पहिलो नम्बरमा सुरेशकुमार श्रेष्ठ छन् । त्यसपछि दीपेन्द्र शाह र पुरुषोत्तम थापा छन् ।
तीनै जना सशस्त्र प्रहरीको पहिलो ब्याचका अधिकृत हुन् । उनीहरू २०५९ सालमा प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए । २०७९ माघमा एकैपटक डीआईजीमा बढुवा भएका उनीहरूमध्ये श्रेष्ठ पहिलो, शाह तेस्रो र थापा चौथो वरीयतामा थिए ।
उनीहरुकै ब्याचमेट अञ्जनीकुमार पोखरेल भने एआईजी भइसकेका छन्।
सुरेश श्रेष्ठ : राष्ट्रसंघको प्रतिष्ठित पदमा छनोटदेखि कारबाही सिफारिससम्म
बढुवाका प्रमुख दाबेदार सुरेशकुमार श्रेष्ठ अहिले सीमा सुरक्षा विभागमा कार्यरत छन् । उनी सशस्त्र प्रहरीको पहिलो ब्याचमा प्रहरी निरीक्षकमा भर्ना हुँदा आफ्नो ब्याचमा सर्वोत्कृष्ट भएका अधिकृत हुन् ।
श्रेष्ठको अन्तर्राष्ट्रिय अनुभव पनि छ । उनले दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा एक वर्ष एफपीयू कमाण्डरका रूपमा काम गरेका थिए । लाइबेरिया र इराकस्थित राष्ट्रसंघीय मिसनमा समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
२०७९ मंसिरमा संयुक्त राष्ट्रसंघको खुला प्रतिस्पर्धाबाट दक्षिण सुडानस्थित शान्ति मिसनको प्रोटेक्सन अफ सिभिलियन साइट कोअर्डिनेटर (पी–४) पदमा उनी छनोट भएका थिए । उक्त पदमा सशस्त्र प्रहरीबाट खुला प्रतिस्पर्धामार्फत छनोट हुने उनी पहिलो अधिकृत बनेका थिए ।
तर, श्रेष्ठको नाम पछिल्लो समय एउटा गम्भीर घटनासँग पनि जोडिएको छ । २३ र २४ भदौको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । उक्त समयमा उनी काठमाडौं बाहिनीपतिका रूपमा कार्यरत थिए । आयोगको सिफारिस आफैँमा दोष प्रमाणित भएको अवस्था भने होइन ।
दीपेन्द्र शाह : इन्टेलिजेन्स ब्युरोको जिम्मेवारीमा
बढुवाका अर्का दाबेदार दीपेन्द्र शाह अहिले सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो प्रमुख छन् । संगठनको सूचना संकलन, विश्लेषण तथा सुरक्षा चुनौती पहिचानसँग सम्बन्धित जिम्मेवारी सम्हाल्ने निकायको नेतृत्वमा रहेकाले उनको वर्तमान जिम्मेवारी पनि बढुवा प्रतिस्पर्धामा महत्त्वपूर्ण मानिन्छ ।
शाह सशस्त्र प्रहरीको पहिलो ब्याचका अधिकृत हुन् । उनी २०७९ माघमा डीआईजीमा बढुवा हुँदा तेस्रो वरीयतामा थिए ।
यसअघि उनी प्रहरी कर्मचारीको अवकाश हुने उमेर, सेवा अवधि र पदावधि पुनरावलोकन गर्न गठित अध्ययन कार्यदलमा समेत सदस्यका रूपमा रहेका थिए । उक्त कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीसहित विभिन्न मन्त्रालयका प्रतिनिधि सहभागी थिए ।
हाल इन्टेलिजेन्स ब्युरोको नेतृत्व गरिरहेका शाहको बढुवा भएमा संगठनको सूचना तथा गुप्तचर संयन्त्रको अनुभव बोकेको नेतृत्व एआईजी तहमा पुग्नेछ ।
पुरुषोत्तम थापा : प्रवक्तादेखि बाहिनी कमाण्डसम्म
बढुवाका अर्का प्रतिस्पर्धी पुरुषोत्तम थापा अहिले सशस्त्र प्रहरीको एकेडेमीमा कार्यरत छन् । उनी पनि सशस्त्र प्रहरीको पहिलो ब्याचका अधिकृत हुन् ।
थापाले यसअघि संगठनको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीसमेत सम्हालेका थिए । २०७९ असोजमा तत्कालीन आईजीपी राजु अर्यालले उनलाई प्रवक्ताको जिम्मेवारी दिएका थिए ।
त्यसपछि उनी नम्बर–९ पशुपतिनाथ बाहिनीको बाहिनीपति बनेका थिए । उनको कमाण्डमा रहेको समयमा सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय स्टोरमा आगलागी भएको घटना भने विवादमा आएको थियो ।
२०८० चैत २६ मा भएको उक्त आगलागीबारे छानबिन हुँदा थापाको कमाण्ड कन्ट्रोलमाथि समेत प्रश्न उठेको थियो । घटनामा जिम्मेवारीमा रहेका केही तल्लो तहका अधिकृतलाई कारबाही गरिएको थियो । थापालाई पनि स्पष्टीकरण सोधिएको र कारबाहीको तयारी भएको समाचार सार्वजनिक भए पनि उनीमाथि अन्ततः विभागीय कारबाही भएको पुष्टि हुने विवरण भेटिँदैन ।
कसको हातमा पुग्ला एआईजीको जिम्मेवारी ?
सशस्त्र प्रहरीमा एआईजी बढुवाका लागि गृह मन्त्रालयले बढुवा सूचना प्रकाशित गर्ने व्यवस्था छ । सूचनापछि योग्य उम्मेदवारले आवश्यक कागजातसहित आवेदन दिनुपर्ने हुन्छ ।
आवेदन दिएका उम्मेदवारको कार्यसम्पादन, ज्येष्ठता, शैक्षिक योग्यता तथा नियमावलीमा तोकिएका आधार मूल्यांकन गरेर बढुवा समितिले सिफारिस गर्नेछ । बढुवा सिफारिसप्रति चित्त नबुझ्ने उम्मेदवारले नियमअनुसार सात दिनभित्र उजुरी दिन सक्ने व्यवस्था छ ।
वरीयतामा पहिलो नम्बरमा रहेका श्रेष्ठसँग अन्तर्राष्ट्रिय अनुभव र राष्ट्रसंघीय मिसनको उपलब्धि छ । तर, आयोगको कारबाही सिफारिसले उनको बढुवा प्रक्रियामा प्रश्न खडा गर्न सक्छ । शाहसँग इन्टेलिजेन्स ब्युरोको वर्तमान जिम्मेवारी छ भने थापासँग संगठनको प्रवक्ता र बाहिनी कमाण्डको अनुभव छ ।
अब बढुवा समितिले कसको कार्यसम्पादन र व्यावसायिक अनुभवलाई प्राथमिकता दिन्छ भन्ने विषयले सशस्त्र प्रहरीको एआईजी बढुवालाई चासोपूर्ण बनाएको छ ।

